काठमाडौं । सरकारले आगामी वैशाख १० गतेका लागि तोकेको आधिकारिक कर्मचारी ट्रेड युनियनको निर्वाचन विवादमा परेको छ । निर्वाचनमा मतको सीमा राख्न नहुने भन्दै एकीकृत नेकपा(माओवादी) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेकपा(क्रान्तिकारी माओअवादी) निकट राष्ट्रिय कर्मचारी सङ्गठन, मधेसी दल निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च र नेपाल राष्ट्रसेवक कर्मचारी सङ्गठन आन्दोलनमा उत्रिएपछि विवाद बढेको हो ।
निर्वाचनको विरुद्धमा सिंहदरवारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरिरहेका चार निजामती कर्मचारी सङ्गठन आबद्ध केही कर्मचारीलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्मुम्न कार्कीले दश जना कर्मचारीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले कर्मचारीहरु तोडफोडमा उत्रिएका कारण पक्राउ गर्नु परेको बताउनुभयो ।
कर्मचारी संयुक्त सङ्घर्ष समितिका प्रवक्ता प्रभासप्रसाद साहले भने १८ जना कर्मचारीलाई पक्राउ गरिएको र उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको बताउनुभयो ।
यद्यपि, नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र भने मत सीमा राख्नुपर्ने र तोकिएकै समयमा निर्वाचन हुनपर्ने पक्षमा छन् । यसअघि आजलाई निर्वाचन गर्ने भनिएकामा समयअभावका कारण आगामी वैशाख १० गतेलाई सारिएको थियो ।
यसैबीच, प्रदर्शनको तस्बिर लिने क्रममा प्रहरीले फोटो पत्रकार कविन अधिकारीलाई दुव्र्यवहार गरेको छ ।