सहमति जुटाएर संसदीय दलको निर्वाचन गर्न माग

0

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताले संसदीय दलको निर्वाचन विधान संशोधनको सहमति जुटाएर गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् । वरिष्ठ नेता पौडेल पक्षधर नेताको आज दिउँसो पौडेल निवास बोहोराटारमा बसेको बैठकले पार्टीको महत्वपूर्ण विषयमा विगतको जस्तै सहमति जुटाएर संसदीय दलको नेता एवम् कार्यसमितिको निर्वाचन गर्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय गरेको हो ।
राजधानीमा उपलब्ध वरिष्ठ नेता पौडेल निकट केन्द्रीय सदस्य एवम् सांसद्को बैठकले पार्टीभित्रका महत्वपूर्ण विषयमा सहमति गरेरै अघि बढ्ने, पार्टी सङ्गठनको परम्परालाई ध्यानमा राख्दै मुलुकमा हालै जारी भएको नयाँ संविधानअनुरुप संसदीय दलको विधानमा आवश्यक संशोधन गराई यथाशीघ्र संसदीय दलको नेता र कार्यसमितिको निर्वाचन सम्पन्न गराउन पार्टी सभापति देउवालाई आग्रह गर्ने निर्णय गरेको सांसद् एवम् केन्द्रीय सदस्य बद्री पाण्डेले राससलाई जानकारी दिनुभयो ।
सो भेलामा १०० बढी केन्द्रीय सदस्य एवम् सांसद्को सहभागिता थियो । संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित तीन सदस्यीय समितिको आइतबार बसेको बैठकले चैत २४ गते दलको नेता र २६ गते दल कार्य समितिको निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्णयमा पौडेल निकट सदस्य गुरुराज घिमिरेले ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो । संविधानअनुसार संसदीय दलको विधान संशोधन गरेर मात्र निर्वाचन प्रक्रियाअघि बढाउनुपर्ने उहाँको माग थियो । आजको बैठकले सोही माग सामूहिक रुपमा अघि सारेको हो ।

Leave A Reply

Your email address will not be published.