काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाका प्रमुख फाङ फेनघुईको औपचारिक निमन्त्रणामा सप्ताहव्यापी औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानसेनापति क्षत्रीलार्ई बलाधीकृत रथी वलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो । यसअघि प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।
सो अवसरमा रक्षा सचिव जयमुकुन्द खनाल, नेपालस्थित चीनका कार्यबाहक राजदूत, नेपाली सेनाका रथीबृन्दलगायत नेपालस्थित आवासीय सैनिक सहचारीको समेत उपस्थिति रहेको थियो ।
चीन भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले चीनका विभिन्न सैनिक संरचनाको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापतिको नेतृत्वमा रहेको आठ सदस्यीय सैनिक टोली चीनको भ्रमण पूरा गरेर यही चैत २० गते स्वदेश फर्कनेछ ।
यसैबीच, प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी वलदेवराज महतले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।