म्याग्दीको चिमखोला–६ की १५ वर्षीया गीता बिकले जतिबेला आफ्नो विवाह भएको थाहा पाइन् त्यतिबेला उनी आफ्नै फुपूको घरमा दुलही बनेर भित्रिइसकेकी थिइन् । “घर जाऊँ भनेर फुपूको छोराले फकाएर लगे, फुपूको घर जान बुबाआमाले पनि रोक्नुभएन,” गीताले तीन महिनाअघिको घटना सम्झिइन् – “फुपूकोमा गएको केही दिनमा बल्ल थाहा पाएँ म त्यहाँ भतिजी होइन बुहारी बनेर गएकी रहेछु ।”
आरन पेसा गर्दै आएका गीताका बुबा र आमाको सहमतिमा छिमेकी गाविस पाखापानी घर भएका फुपूका छोराले विवाह गर्न आफ्नो घर लगेका थिए । फुपूका २४ वर्षीय छोराले गर्ने व्यवहारबाट आफ्नो विवाह भएको थाहा पाएपछि छाँगाबाट खसेजस्तो भएको पीडा गीताले सुनाइन् । तेइस दिनसम्म फुपूको घरमा बसेपछि उनले त्यहाँको व्यवहार ठीक नलागेपछि आफ्नै घर फर्कने निधो गरिन् । अमर माविको कक्षा ६ मा अध्ययनरत गीताले अहिले पढाइलाई निरन्तरता दिइरहेकी छिन् । “सर मिसले सहयोग गर्नुभएको छ, माया गर्नुहुन्छ,” – गीताले भनिन् – “विगतमा जे जस्तो भए पनि अब पढाइलाई निरन्तरता दिन्छु ।”
मामाको छोरी र फुपूको छोराबीच हुने मागी विवाह संस्कारलाई चुनौती दिएकी गीताको कथाजस्तै लाग्ने सङ्घर्षको भोगाइभन्दा दर्दनाक पीडा छ उत्तरी क्षेत्र दाना–९ की १८ वर्षीया अञ्जली गर्बुजाको । गरिबीका कारण घरमा बुबाआमाले पढाउन सक्ने अवस्था नभएपछि शिख पाउद्वार माइत भएकी उनले तीन वर्षअघि दानाका मीनकुमार गर्बुजासँग लगनगाँठो कसेकी थिइन् । पन्ध्र वर्षको उमेरमा विवाह गरेकी गर्बुजा १६ वर्षको कलिलो उमेरमा आमा बन्नुप¥यो । कक्षा ८ पढ्दा विवाह गरेकी गर्बुजा १० कक्षामा भर्ना भइन् तर प्रवेशिका परीक्षामा सहभागी हुन पाइनन् आमा बनिसकेका कारण । पढाइले १० कक्षामा पूर्णविराम लाग्यो । शिक्षा हासिल गर्ने अधिकार कुण्ठित भएपछि भविष्यको बाटोमा ठेस लागेको नमिठो अनुभव अञ्जलीलाई भयो ।
“भनेजस्तो नभए पनि पारिवारिक सम्बन्ध राम्रो छ, भावी सन्तानलाई हामीले जस्तो दु्ःख भोग्न दिने छैनौँ,” अञ्जली भन्छिन् – “विवाहपछि पढाइलाई निरन्तरता दिन धेरै कठिन छ ।” कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने÷गराउने कार्यलाई अपराध मानेको छ । आधारभूत तहसम्मको शिक्षालाई सरकारले निःशुल्क घोषणा गरेको छ । तर समाजमा न त बालविवाह रोकिएको छ, न सबैले आधारभूत तहको शिक्षा नै पाएको अवस्था छ ।
यस्तो अवस्था आउनुको पछाडि चेतना, शिक्षाको कमी, गरिबी र परम्परागत गलत संस्कार प्रमुख कारण रहेको अमर मावि चिमखोलाकी शिक्षिका पोमाया पुनको ठम्याइ छ । “मामाको छोरी र फुपूको छोराबीच विवाह गर्ने चलन छ, आफन्तभित्रै विवाह गर्दा सजिलो हुने बुझाइले गर्दा माइती कुटुम्बको नातालाई निरन्तरता दिन अभिभावक सहमत भइसकेपछि छोरीचेलीले नाइँ भन्न सक्दैनन्,” शिक्षिका पुनले भन्नुभयो – “जसले गर्दा मन नभएर पनि अभिभावकले दिएको व्यक्तिसँग विवाह गर्नुपर्ने किशोरीको बाध्यता छ ।”
अभिभावकमा नातामा विवाह गर्दा भविष्यमा जन्मने बालबालिकामा पर्ने असर, कानुनी व्यवस्था, महिला तथा बालबालिकाको अधिकार र बालविवाहले निम्त्याउने दुष्परिणामबारे अधिकांशलाई ज्ञान छैन । परिवारको कमजोर आर्थिक अवस्था र गरिबीका कारणले पनि बालविवाह हुने गरेको छ ।
विपन्न समुदायका अभिभावक छोराछोरीलाई पढाउनुभन्दा विवाह गरिदिँदा आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन् । बिहे गरिदिएपछि आफ्नो जीवन आफैँ चलाउँछन र झन्झटबाट मुक्त भइन्छ भन्ने मान्यता छ । गरिबी र अभावमा गुज्रिएको ग्रामीण समाजमा जस्तै शिक्षित भनिएको सहरी र सम्पन्न समुदाय पनि बालविवाहबाट मुक्त छैन ।
गाउँघरमा बाध्यताले बालविवाह हुन्छ भने सहरी क्षेत्रमा सूचना प्रविधिको दुरुपयोग, अभिभावकको बेवास्ता र गलत सङ्गतका कारण रहरले सानैमा दुलहा दुलही बन्नेहरु भेटिन्छन् । मोबाइल, इन्टरनेट, सामाजिक सञ्जालको सहयोगले प्रेम सम्बन्ध स्थापित गरेर शारीरिक सम्पर्क हुँदै विवाह गर्नुअगावै बुबाआमा बन्ने विकृति सामाजिक समस्याकै रुपमा देखिएको छ ।
कम उमेरमा हुने विवाहले आफू, परिवार र समाजलाई विविध समस्या थपिदिन्छ । उनीहरु शारीरिक, मानसिक र संवेगात्मक हिसाबले परिपक्व हँुदैनन् । छोटो समयको माया प्रेम र बाध्यतामा परेर विवाह गरेका दम्पतीको सम्बन्ध रसिलो, कसिलो र दिगो बनेको कमै मात्र उदाहरण छन् । उमेर नपुग्दै विवाह गरेपछि पारिवारिक जिम्मेवारी बढ्दै जाँदा एक अर्कामा अविश्वास सिर्जना भई अलग हुने बाटो रोज्ने थुप्रै किशोरकिशोरी भेटिन्छन् ।
पछिल्लो समय सम्बन्ध विच्छेद गर्न आउनेमा सानै उमेरमा विवाह गरेका बढी हुने गरेको जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार गोकर्णराज पन्तले बताउनुभयो । जिल्ला अदालतमा आर्थिक वर्ष २०७१÷७२ मा ११३ थान सम्बन्ध विच्छेदका मुद्दा परेकामा १०७ वटाको फैसला भएको थियो । चालु आर्थिक वर्षको पुस महिनासम्ममा ३१ जनाले मिलापत्रको माध्यमबाट (फास्ट ट्र्याक) विधि अपनाएर सम्बन्ध विच्छेद गरेको अदालतको तथ्याङ्क छ ।
प्रहरी र अदालतमा बालविवाहसम्बन्धी मुद्दा परेको भने भेटिँदैन । यदाकदा अन्तरजातीय विवाह भएको र केटा अथवा केटी पक्षले नचाहेको व्यक्तिलाई बुहारी वा ज्वाइँका रुपमा स्वीकार गर्न नसकेको अवस्थामा मात्रै बालविवाहको उजुरी पर्छ । धेरैजसो यस्ता मुद्दा सहमतिमा मिलापत्र गरेर टुङ्ग्याइने गरिएको छ ।
बालविवाहले किशोर किशोरीको शिक्षामा पनि नकारात्मक असर पारेको छ । विद्यालय, दश जोड दुई तहमा अध्ययनरत धेरैले विवाहपछि शिक्षालाई निरन्तरता दिन सकेका छैनन् । किशोर पारिवारिक समस्या र घरव्यवहार चलाउन रोजगारीका लागि विदेसिने तथा किशोरी आमा बन्ने र घरधन्दा सम्हालेर बस्ने गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार २०७१ को प्रवेशिका परीक्षा (एसएलसी)मा सहभागिताका लागि आवेदन फाराम भरेकामध्ये पढाइ छाडेका र ७५ प्रतिशत हाजिरी नभएका कारण ६६ जना विद्यार्थी परीक्षामा बस्न अयोग्य भए । पढाइ छाड्नु र नियमित कक्षामा हाजिर नहुनाका पछाडिएको एउटा कारण विद्यालय पढ्ने उमेरमा हुने विवाह भएको विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मीले बताउनुहुन्छ ।