काठमाडौं । सरसफाइ मन्त्री पे्रमबहादुर सिंहको दल समाजवादी पार्टी निर्वाचन आयोगले खारेज गरिदिएको छ । सिंहको समाजवादी पार्टीसहित अन्य १४ वटा दल निर्वाचन आयोगले खारेज गरेको हो । निर्वाचन आयोगले लगातार तीन आर्थिक वर्षको आयव्यय विवरणको वार्षिक प्रतिवेदन र त्यस सम्बन्धमा निर्धारित समयमा आफ्ना भनाइ पेस नगर्ने १५ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
आयोगको गत शुक्रबारको वैठकले निर्वाचन आयोग ऐन, २०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम दर्ता खारेज गर्ने निर्णय गरेको हो । आयोगले दर्ता खारेजीमा परेका दलले प्राप्त गरेको नाम, चुनाव चिह्न र झन्डा खारेज गर्ने र एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले तिनलाई प्रयोग गर्न नपाउने गरी ‘फ्रिज’ गरेको छ ।
सर्वसाधारणको जानकारीका लागि आयोगले दल दर्ता खारेजीसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता वासुदेव गुरागाईंले बताए । त्यसैगरी पाँचवटा दलले तीन आवको निर्धारित समयभन्दा पछि विवरण बुझाएका, ५० वटाले दुई आवको वार्षिक प्रतिवेदन पेस नगरेका र ६५ वटा दलले एक आवको प्रतिवेदन पेस नगरेको उनले बताए । निर्धारित समयभित्र एक र दुई आवको आयव्यय विवरण पेस नगर्ने र आफ्ना भनाइ तीन आवसम्म पेस नगर्ने राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ बमोजिम कारबाही हुने प्रवक्ता गुरागाईंले जानकारी दिए ।