काँग्रेसको नीति र कार्यक्रममा आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता

पोखरा । नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा कास्की काँग्रेसबाट महाधिवेशनमा प्रतिनिधत्व गर्ने महाधिवेशन प्रतिनिधिले पार्टीले तय गर्ने नीति तथा कार्यक्रममा आयआर्जन तथा सामाजिक विकासलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिएका छन् । देशले राजनीतिक क्रान्तिको चरण पार गरेको भन्दै जिल्लाका नेताले अब राष्ट्रिय समृद्धिका लागि आयआर्जनका नयाँ कार्यक्रमसहित सामाजिक विकासका लागि अघि बढ्नुको विकल्प नभएको बताए ।
देश एकात्मक राज्य प्रणालीबाट सङ्घीयता तर्फ अघि बढिसकेका कारण सङ्घीयताको आवश्यकता अनुसार पार्टीको आन्तरिक संरचना परिवर्तन र त्यही किसिमको सामाजिक विकासका एजेन्डा आगामी महाधिवेशनबाट पारित गर्नुपर्ने कास्की काँग्रेसका सभापति एवम् महाधिवेशन प्रतिनिधि कृष्ण केसी बताउनुहुन्छ । प्रजातान्त्रिक समाजवाद अनुरुपको आर्थिक नीतिलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नु वर्तमानको आवश्यकता भएको बताउँदै उहाँले पार्टीका कार्यकर्तालाई पनि आर्थिक आयआर्जन र सामाजिक विकासमा लगाउने किसिमको नीति आगामी महाधिवेशनबाट काँग्रेसले लिनुपर्ने उहाँको तर्क छ ।
“देश सङ्घीय ढाँचामा गइसकेको अवस्थामा पार्टीलाई थप व्यवस्थित बनाउन पार्टीमा पदाधिकारीको सङ्ख्या बढाउनु आवश्यक छ,” उहाँले भन्नुभयो – “पार्टीलाई थप व्यवस्थित र परिवर्तनलाई आत्मसात गर्ने तवरबाट गतिशील बनाउनका लागि महाधिवेशनले स्पष्ट मार्गनिर्देश गर्न सक्नुपर्छ ।”
केसी जस्तै महाधिवेशन प्रतिनिधि सांसद शारदा पौडेल पनि आगामी चुनौतीलाई सामना गर्नसक्ने तवरबाट पार्टीले आफ्नो नीति तथा कार्यक्रम तयार गर्नुपर्ने धारणा राख्नुहुन्छ । पार्टीभित्रको आन्तरिक सुदृढीकरण अपरिहार्य भएको बताउँदै उहाँले अनुशासनहीनताको अन्त्यका लागि पार्टीको नीति तथा सिद्धान्त विपरीत काम गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासनको दायरामा ल्याएर कारबाही गर्ने सुनिश्चितता हुनुपर्ने उल्लेख गर्नुभयो ।
देश सङ्घीयतामा गइसकेको र समावेशिता तथा समानुपातिक पद्धतिलाई अङ्गीकार गरिसकेका अवस्थामा महिला, जनजाति, दलित तथा पिछडिएको वर्गलाई मूल प्रवाहमा समावेश गर्न त्यही किसिमको नीति तथा कार्यक्रम तय गरिनुपर्ने उहाँको भनाइ छ । इतिहास बोकेको पार्टी भएका कारण पार्टीभित्र धेरै नेता तथा कार्यकर्ताको व्यवस्थापन गर्नु अहिलेको चुनौती रहेको उल्लेख गर्दै नेत्री पौडेलले पार्टीको आन्तरिक व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
नेपाल भौगोलिक विविधतायुक्त देश भएका कारण यो विविधतालाई अधिकतम उपयोग गर्ने तवरबाट नेपाली काँग्रेसले आफ्नो नीति तथा कार्यक्रम अघि सार्नुपर्ने महाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङको तर्क छ । उहाँका अनुसार विभिन्न जातजाति, भाषाभाषीका साथै हिमाल, पहाड र तराई मिलेर बनेको नेपालको राष्ट्रियता यिनै विविधताको एकताबाट सम्भव हुने भएकाले पार्टीको नीति तथा कार्यक्रम त्यही अनुरुप तय गरिनुपर्छ ।
गुरुङले आर्थिक समृद्धि र विकास देशको अबको आवश्यकता हो भन्ने कुरालाई उच्च प्राथमिकता दिँदै नीति तथा कार्यक्रम तय गरिनुपर्ने बताउनुभयो । कास्की क्षेत्र नं ४ का सभापति एवम् महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा पार्टीलाई संस्थागत रुपमा विकास गर्ने किसिमको नीति तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुहुन्छ ।
पार्टीभित्रको आन्तरिक सुधार बिना समाजको सुधार गर्न नसकिने बताउँदै उहाँले देशका लागि सङ्घीयता नौलो अनुभव भएका कारण पार्टीले पनि सङ्घीयताको मोडल अनुसार नै आफ्नो संरचना विकास गर्नुपर्ने बताउनुभयो । महाधिवेशन प्रतिनिधि एवम् नेपाली काँग्रेस कास्कीका सचिव सुदिप मोहन भट्टराईले देशको परिवर्तनलाई आत्मसात् गर्दै आर्थिक समृद्धि र विकासको एजेन्डामा देशलाई अघि बढाउने सोचका साथ नीति तथा कार्यक्रम तय गरिनुपर्ने धारणा राख्नुभयो ।
कमजोर परराष्ट्र नीतिका कारण देशले पटक-पटक समस्या भोग्नुपरेको वास्तविकतालाई दृष्टिगत गरी पार्टीले समयसापेक्ष अन्तर्राष्ट्रिय सम्बन्ध एवम् नीति तय गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । पार्टीको आसन्न महाधिवेशनका लागि कास्की जिल्लाका चार निर्वाचन क्षेत्रका सभापतिमा क्रमशः वृजमान गुरुङ, मधु बास्तोला, विजयराज आचार्य र पोषनाथ शर्मा निर्वाचित हुनुभएको छ । क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने पार्टीको विधानमा उल्लेख छ ।
महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा कास्की क्षेत्र नं १ बाट कृष्ण केसी, यज्ञबहादुर थापा, तारानाथ रानाभाट, सुदिपमोहन भट्टराई, तिलक रानाभाट, गिरिराज गौतम, चन्द्रवती पौडेल, कोपिला रानाभाट, बुद्धिमान गुरुङ, कुमार विक र खलिल मियाँलाई निर्वाचित हुनुभएको छ । क्षेत्र नं २ मा बाबुराम आचार्य, ऋषि काफ्ले, किशोरदत्त बराल, गुरु बराल, कृष्ण कार्की, पदम सिंह गुरुङ, शारदा पौडेल, खेमकुमारी बराल, डम्बर गुरुङ, परशुराम पोखरेल र राधाकृष्ण गुरुङलाई महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं ३ मा देवराज चालिसे, नरेशशंकर पालिखे, रामजी कुँवर, रामचन्द्र पोखरेल, केशरप्रसाद निर्दोषी, सोभियतबहादुर अधिकारी, वीरेन्द्रनारायण बिजुक्छे, विन्दादेवी आले मगर, सकुन्तला कोइराला र हारुनखा पैठाम महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ । त्यस्तै क्षेत्र नं ४ मा शुक्रराज शर्मा, महादेव गुरुङ, रामचन्द्र त्रिपाठी, आइबहादुर गुरुङ, देवेन्द्रकुमार शेरचन, दीपक गुरुङ, हरिमाया गुरुङ, राधादेवी अधिकारी, राजबहादुर गुरुङ, मनबहादुर विश्वकर्मा र सुशील भट्टचन महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।