एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना सार्वजनिक

0

काठमाडौं । उर्जा मन्त्रालयले भारतबाट ५ सय ८० मेगावाट विद्युत् आयात गरी आधारभूतरुपमा एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । उर्जा मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा विहीबार पत्रकार सम्मेलन गरी भारतबाट ५ सय ८० मेगावाट विद्युत् आयात गरेर एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिले संरचनालाई मिलाउन केही समय लागेपनि आफूहरुको लक्ष्य पूरा हुने दाबी गरे । उर्जा मन्त्रालयकाअनुसार एक वर्षपछिको सुख्खायाममा १ हजार ४ सय २३ मेगावाट विद्युत्को माग हुनेछ ।
पत्रकार सम्मेलनमा उर्जामन्त्री रायमाझीले एक वर्षपछिको सुख्खायाममा १ हजार ६७ मेगावाट विद्युत् व्यवस्था गरिने बताए । उनले कुलेखानी पहिलो र दोस्रो जलाशययुक्त आयोजनाबाट ९२ मेगावाट, निजी क्षेत्रबाट २ सय मेगावाट तथा सौर्य र वायुबाट १ सय मेगावाट विद्युत् उत्पादन गरिने बताए । राष्ट्रिय प्रसारणमा ६ सय ८४ मेगावाट विद्युत् जडान भएकोमा सुख्खायाममा जम्मा २ सय २८ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।
उर्जामन्त्री रायमाझीले आन्तरिक उत्पादनबाट लोडसेडिङको अन्त्य गर्न सम्भव नरहेकाले भारतबाट ५ सय ८० मेगावाट विद्युत् आयात गर्ने व्यवस्था गरिने बताए ।
उनले एक वर्षपछिको वर्षायाममा भने १ हजार ५ सय ६७ मेगावाट विद्युत्को व्यवस्था गरी लोडसेडिङ पूर्णरुपमा अन्त्य गर्ने दाबी गरे ।
उर्जा मन्त्रालयको कार्ययोजनामा दुई वर्षभित्र भारतबाट ९ सय ३० मेगावाट आयात गरेर १ हजार ८ सय ५० मेगावाट विद्युत्को व्यवस्था गर्ने उल्लेख छ । दुई वर्षभित्र सौर्य तथा वायुबाट उत्पादित बिजुली दुई सय मेगावाट पुर्‍याउने उर्जा मन्त्रालयको दाबी छ ।
उर्जामन्त्री रायमाझीले उत्पादन बढाउन बुढीगन्डकी, नलसिङगाढ, सुनकोशी, उत्तरगंगा, शारदा, बबई जस्ता जलाशययुक्त आयोजनाहरु तत्काल सुरु गरिने तथा भूकम्पबाट क्षतिग्रस्त आयोजनाहरुलाई सरल ऋणको व्यवस्था गरिने बताए ।

Leave A Reply

Your email address will not be published.