कोइरालालाई अस्पताल लैजान भ्याइएन : डा योगी

काठमाडौं । नेपाली काँगे्रसका सभापतिसुशील कोइरालाका निजी चिकित्सक डा कवीरनाथ योगीले चाहेर पनि उहाँलाई अस्पताल लैजान नभ्याइएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ गरेको साक्षात्कार कार्यक्रममा डा योगीले पूर्वप्रधानमन्त्री कोइरालालाई राति अस्पताल लैजान एम्बुलेन्सका लागि धेरै फोन गरेको तर अस्पतालको फोन नउठेको र एम्बुलेन्सको व्यवस्था हुन नसकेको स्पष्ट गर्नुभयो ।
“घरमा भएका दुइटै गाडीमा अक्सिजनको व्यवस्था नभएकाले जोखिम उठाएनाँै, अस्पताल लैजान अलिकति भ्याइएन” उहाँले भन्नुभयो । डा योगीले गत शुक्रबार खोकी बढेपछि र शनिबार कोइरालाले ‘गाह्रो भएको’ भनेपछि थप एन्टिबायोटिक दिइएको बताउँदै भन्नुभयो, “आइतबार बिहान ६ बजे जाँच गर्दा १०१.५ डिग्री फरेन्हाइट ज्वरो थियो, परिवारसँगको सल्लाहमा आइतबारदेखि तीन एन्टिबायोटिक चलाएको थिएँ, सोही दिन बेलुका ९ बजे पनि मैले जाँच गर्दा अवस्था ठीकै थियो ।”
सोमबार बिहान ४ बजे “कोइरालालाई गाह्रो भयो’ भनेर फोन आएको बताउँदै डा योगीले बिहान ४ः३० मा आफू उहाँको निवास महाराजगन्ज पुग्दा रक्तचाप बढेको जानकारी दिनुभयो ।
कोइरालाले आफूलाई गाह्रो भएको भने पनि त्रिवि शिक्षण अस्पतालमा ६०१ न्ांको शय्या सुरक्षित राखिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “ उहाँले दिउँसो जाउलो खानुुभयो, दुई कचौरा जाउलो खाएपछि अवस्था सामान्य सम्झेर परिवारसँगको सल्लाहमा अपराह्न ३÷४ बजेतिर बेड क्यान्सिल ग-यौँ ।”
सो अवधिमा आफूले सधैँ कोइरालाको जाँच गर्न जाने गरेको बताउँदै डा योगीले गत सोमबार (माघ २५) बेलुका उहाँको अवस्था सामान्य नै रहेको तर राति १०ः३० बजे अचानक श्वास लिन गाह्रो भएको भनेर उहाँका भतिजा अतुलको फोन आएको जानकारी डा योगीले गराउनुभयो ।
डा योगीले औषधि र सुइसहित करिब ११ः३० बजे राति आफू कोइराला निवास पुग्दा उहाँको अवस्था गम्भीर रहेको जानकारी गराउँदै भन्नुभयो, “उहाँलाई बोल्न अप्ठ्यारो भएको थियो, निलो भइसक्नुभएको थियो, अक्सिजन बढाएर हेरेँ, तीन सुइ लगाएँ, लगाउँदा लगाउँदै आधा, पौने घन्टा भयो होला, दुर्भाग्यवश अस्पताल लैजान सकिएन ।”
निधारमा चन्दनले घाउ छोपेको भन्ने सञ्चारकर्मीको जिज्ञासाका सम्बन्धमा डा योगीले कोइराला निवासमा नियमित चन्दन लगाउन आउने एक जना व्यक्तिले लगाएको हुन सक्ने बताउनुभयो । स्व कोइरालालाई आर्यघाटमा नुवाइधुवाइ गरेर चितामा राख्दा निधारमा कुनै पनि खत नदेखिएको भन्दै डा योगीले नेता कोइरालालाई दुर्घटना भई चोट नलागेको स्पष्ट पार्नुभयो ।