शोक प्रस्ताव सर्वसम्मतिबाट पारित

0

काठमाडौं । व्यवस्थापिका–संसद्ले नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता स्वर्गीय सुशील कोइरालाको दुःखद् निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख ओनसरी घर्तीले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई संसद्को आजको बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो । सभापति कोइरालाको २०७२ साल माघ २६ गते बिहान १२:५० बजे ७७ वर्षको उमेरमा आफ्नै निवास महाराजगन्जमा निधन भएको थियो ।
शोक प्रस्तावमा नेपालको संविधान निर्माण गर्ने अभियान र संविधान संशोधन गर्ने प्रक्रियामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सादा जीवन र स्वच्छ छविका सांसद सुशील कोइरालाको असमायिक दुःखद निधन भएकामा बैठक गहिरो शोक प्रकट गर्दछ भनिएको छ ।
प्रस्तावमा भनिएको छ, ‘२०४८ र २०५६ सालको प्रतिनिधिसभा सदस्य, २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट निर्वाचित सदस्य व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री कोइरालाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’
बैठकले एक मिनेट मौन धारण गरेको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा कोइरालाको नेतृत्वको सरकारको कार्यकालमा संविधान सभाबाट नेपालको संविधान जारी भएको थियो । व्यवस्थापिका–संसद्को अर्का बैठक आगामी फागुन ४ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

Leave A Reply

Your email address will not be published.