संस्थापन र देउवा पक्षको यस्तो आँकलन

0

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत भोलि (सोमबार) देशभर जिल्ला नेतृत्वको चयन गरिँदैछ । शुक्रबार महाधिवेशनका मूख्य मतदाता मानिने महाधिवेशन प्रतिनिधि चयन गरेको कांग्रेसले भोलि पचहत्तरै जिल्लामा जिल्ला नेतृत्व चयन गर्न लागेको हो ।
जिल्ला नेतृत्व चयन गरेपछि कांग्रेसको ध्यान केन्द्रीय नेतृत्व चयनमा लाग्नेछ । केन्द्रीय महाधिवेशन भने फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय महाधिवेशनका लागि २४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले चुनिने २ हजार ८ सय ८० प्रतिनिधि मतदाता रहने व्यवस्था छ । यस्तै विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ९८, विदेशस्थित १७ जनसम्पर्क समितिबाट ११९, केन्द्रीय समितिका ८४ जना सदस्यसहित करिब तीन हजार दुई सय महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् ।
केही निर्वाचन क्षेत्रमा भने विवादका कारण अधिवेशन हुन सकेको छैन । आगामी नेतृत्वका लागि दाबी गरिरहेका संस्थापन र देउवा पक्ष दुबैले आफ्नो पक्षमा बढी प्रतिनिधि चुनिएको दाबी गरेका छन् । प्राप्त नतिजा अनुसार सुदूरपश्चिमका जिल्लामा शेरबहादुर देउवाको पकड देखिएको छ भने पूर्वाञ्चलका जिल्लामा सभापति सुशील कोइराला पक्षीय संस्थापन बलियो रहेको दाबी गरिएको छ । अरु क्षेत्रमा अघिल्लो महाधिवेशनको तुलनामा परिणाम फरक परेको छ ।
सबैतिरको परिणाम हेर्दा आफ्नो पक्ष १२ औं महाधिवेशनको तुलनामा बलियो रहेको दाबी देउवा पक्षको छ भने संस्थापनले आफ्नै पक्ष बलियो रहेको दाबी गरिरहेको छ । देउवा पक्षमा भन्दा संस्थापनमा नेतृत्व दाबी गर्ने बढी भएकाले नेताहरुलाई मिलाउन सकस परेको बताइएको छ । सभापतिका लागि वर्तमान सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले दाबी गरेका छन् । यद्यपी, तीनै जना मैदानमा रहने वा दुईमात्र हुने भन्ने चाहिँ अझै यकिन भएको छैन ।

Leave A Reply

Your email address will not be published.