कांग्रेसका महाधिवेशन प्रतिनिधि आज चुनिदैं

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १३ औं महाधिवेशनमा होमिएको छ । यसअन्तर्गत मूख्य चासो र नेताहरुको जित हारको परिणाम दिने महाधिवेशन प्रतिनिधिको चयन आज गरिँदैछ । महाधिवेशनपछिको अर्को शक्तिशाली निकाय मानिएको महासमितिका लागि पनि आजै सदस्य चयन हुँदैछन् ।
हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित ११ जना महाधिवेशन प्रतिनिधि चुनेर सम्पन्न हुने यस अधिवेशनले आगामी महाधिवेशनमा नेतृत्वको दावी गरिरहेका नेताहरुको हैसियत पनि प्रष्टयाउने भएकाले निर्वाचनलाई महत्वका साथ हेरिएको छ । यसका साथै यस अधिवेशनले हरेक क्षेत्रमा आगामी चार वर्षसम्मका लागि कांग्रेसको क्षेत्रीय कार्यसमिति निर्माण गर्नेछ । यही १५ गते देशभरका गाउँ र नगरपालिका इकाई कमिटीबाट चुनिएका प्रतिनिधि मतदाता रहने यस अप्रत्यक्ष निर्वाचनबाट समानुपातिक समावेशी सिद्धान्तका आधारमा दलित, महिला, आदिवासी–जनजाति र अल्पसंख्यक कोटामा पनि प्रतिनिधि चयन गर्नेछ ।
यसै आधारमा आगामी फागुन २० देखि २३ सम्म काठमाडौंमा केन्द्रीय कार्यसमिति चयन हुनेछ । क्षेत्रबाट १२ जनाका दरले चुनिने २८ सय ८० जनाकाअतिरिक्त विभिन्न भ्रातृ संस्था, विदेशस्थित जनसम्पर्क समिति, केन्द्रीय समितिका ८५ जना सदस्य तथा केन्द्रीय सभापतिले मनोनयन गर्ने ३० जनासहित तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले आगामी महाधिवेशनमा मतदाताका रुपमा भाग लिनेछन् ।
यसैगरी अधिवेशनले हरेक क्षेत्रबाट पाँच जनाका दरले महासमिति सदस्यको पनि चयन गर्ने नेपाली कांग्रेस १३ औं महाधिवेशन निर्वाचन कार्यक्रमका प्रमुख अधिकृत राधेश्याम अधिकारीले बताए । कांग्रेसको जिल्ला अधिवेशन भने यही २५ गते हुनेछ ।
१३ औं महाधिवेशनमा सभापतिका लागि वर्तमान सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति पौडेलले दावी गरेका छन् । यद्यपि, तीनै जना मैदानमा रहने वा दुईमात्र हुने भन्ने चाहिं अझैं यकिन भएको छैन । देउवा र पौडेलले उम्मेदवारी घोषणा गरिसकेको भए पनि कोइरालाले उम्मेवारी घोषणा गरिसकेका छैनन् ।
देशभरबाट आफ्ना पक्षमा कति प्रतिनिधि चुनिने छन् त्यसकै आधारमा कोइरालाले आफु सभापतिमा उठ्ने वा आफ्नो तर्फबाट अरु कसैलाई उम्मेद्वार बनाउने भन्नेबारे निर्णय लिने कोइरालानिकट स्रोतले जनाएको छ ।
केन्द्रीय पदाधिकारीमा भने एक दर्जनभन्दा बढी नेता आकांक्षी देखिएका छन् । वर्तमान महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. रामशरण महत, डा. सशांक कोइराला, सुजाता कोइराला, गगन थापालगायतका नेता पदाधिकारीका आकांक्षी हुन् । तर विधानमा पदाधिकारीको सीमित पदमात्र रहेकाले सभापतिका आकांक्षीलाई आफ्नो टीम मिलाएर लैजान निकै कठिन देखिएको छ । पदाधिकारीका आकांक्षीले पनि आफ्ना क्षमता देखाएर अनुकूल खेमाबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।