गोलबजार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका हुन् । बम प्रहारबाट कन्टेनरको सिटलगायत केही सामान जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
साथै तोडफोडबाट गाडीको सिसा फुटेको छ । गाडीका चालक भारतीय नागरिक कलबिन्द सिंहलाई मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर कुटपिटसमेत गरेका छन् । यस्तै सोही ठाउँमा पिबी २९ आर ९२७२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् ।