मलाई सुशीलजीको पूर्ण समर्थन : उपसभापति पौडेल

काठमाडौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराई मधेसमा देखिएको समस्या अब छिट्टै समाधान हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले वर्तमान सङ्कट समाधानका लागि पहल गर्न आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उपसभापति पौडेलले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकबाटै सहमतिको आधार तय हुने भएकाले समाधान छिट्टै निस्कनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
मधेसमा देखिएको समस्या समाधनका लागि आफ्नै सरकारको पालामा संशोधन प्रस्ताव संसदमा दर्ता गराएको स्मरण गराउँदै उहाँले भन्नुभयो, “जनसङ्ख्या, समानुपातिक र समावेशीको मुद्दा संशोधनमार्फत सम्बोधन हुन्छ ।” मधेसी दलसँग अहिले सरकार र नेपाली काँग्रेसले छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।
उहाँले भन्नुभयो, “संविधानमा २५ मन्त्रालय राख्न पाउने व्यवस्था भए पनि संविधान विपरीत ४० मन्त्री बनाउनु राम्रो भएन ।”
केही दिन अघि छिमेकी मुलुक भारतको भ्रमण गरेर स्वदेश फर्कनुभएका पौडेलले वार्ता र संवादबाटै तराईको समस्या समाधान होस् भन्ने चाहना छिमेकी मुलुकको रहेको पनि स्पष्ट पार्नुभयो । महाधिवेशनबाट भागबण्डाको राजनीति अन्त्य हुन्छ । उपसभापति पौडेलले पार्टीको आगामी महाधिवेशनले भागबण्डाको राजनीतिक अन्त्य गर्ने बताउनुभएको छ ।
उहाँले देशभरका पार्टीका नेता कार्यकर्ताले आफूबाट ठूलो अपेक्षा गरेकाले पार्टीको आवश्यकताअनुसार उम्मेदवारी दिने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र सबैले अवसर पाउनुपर्छ । मलाई सुशीलजीको पूर्ण समर्थन हुन्छ ।” देश सङ्घीयतामा गइसकेकाले पार्टीेको विधान संशोधन प्रदेशअनुरुप हुनुपर्ने उहाँको भनाइ थियो ।