उप तथा परराष्ट्रमन्त्री थापाले भोलिदेखि चीनको भ्रमण गर्ने

0

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले भोलिबाट हुने आफ्नो चीन भ्रमणले दुई देशबीचको भावी सम्बन्धको आधार तयार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गर्नुभएको छ । वर्तमान सङ्कट समाधानका लागि आवश्यक पहल गर्न रिपोर्टर्स क्लब नेपालले दिएको ज्ञापन ग्रहण गर्दै उहाँले भन्नुभयो– “नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनपछि चीनका नेतासँग सम्बन्ध विस्तार गर्ने र हाम्रा प्राथमिकताबारे जानकारी गराउने सन्दर्भमा नियमित र औपचारिक भ्रमणमा म चीन जाँदैछु ।’’
नेपाल र चीनबीचमा आर्थिक र व्यापारिक सम्बन्धलाई सुदृढ तुल्याउने तथा लगानी र पर्यटनलाई अभिवृद्धि गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा सञ्चालन भइरहेको योजनाको निरन्तरता र थप पूर्वाधार विकाससम्बन्धी आयोजना अघि बढाउने विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्री थापाले जानकारी दिनुभयो ।
‘‘इन्धनलगायतका अत्यावश्यक वस्तुको व्यापारलाई विविधीकरण गर्ने सरकारको नीतिअनुरुप चीनबाट पनि इन्धन आपूर्ति गर्ने सिलसिलामा भएका सहमतिलाई व्यापारिक ढङ्गबाट अघि बढाउने सन्दर्भमा देखिएका कठिनाइलाई भ्रमणका अवसरमा हटाउन प्रयत्न हुनेछ’’– उहाँले भन्नुभयो ।
नेपालको अहिलेको प्राथमिकता भनेको संविधान निर्माणसँगै आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्नु रहेको बताउँदै परराष्ट्र मन्त्री थापाले भन्नुभयो– “चीन विश्वमै दोस्रो आर्थिक शक्तिको रुपमा तीव्र गतिमा विकास गरिरहेको छ, विकास र समृद्धि हासिल गर्ने सन्दर्भमा हामीले त्यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेमा भ्रमण केन्द्रित रहेको छ ।”
अबको नयाँ चरणको गन्तव्य र प्राथमिकता भनेको आर्थिक र समृद्धि हो भन्ने पहिचान भइसकेपछि त्यो लक्ष्य प्राप्त गर्ने सिलसिलामा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र सद्भाव जुटाउने कार्यमा आफू प्रयत्नशील रहेको मन्त्री थापाले बताउनुभयो । नेपाल र चीन दौँत्य सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाठ मनाइरहेको बेलामा परराष्ट्र मन्त्री थापाको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.