वैशाख १२ मा ७.६ रेक्टर स्केलको गोर्खा भूकम्प आएका बेला अष्ट्रियाका जोसेफ इनवलर होटल साँग्रिलाबाट बाहिर कसरी निस्कने भन्ने चिन्तामा थिए । कोठाबाट जसोतसो बाहिर निस्कँदा सबैतिर त्रास व्याप्त थियो । चारैतिरबाट घर भत्केका, मानिस मरेका र घाइतेको उद्धार भइरहेका समाचार आइरहेका थिए ।
तीन दशक अघि हिमाल चढ्ने मोहले नेपाल आएका ६८ वर्षीय जोसेफले त्यसपछि होटलको प्राङगणमा दुईहप्ता पालमै गुजारे । पदयात्रामा जाँदा हिमालय र गाउँवस्तीका मानिससँग घनिष्ट चिनारी बनाएका जोसेफले विपत्तिका बेला नेपाल र नेपालीलाई सहयोग गर्ने अठोट गरे । उनले पर्वतारोहण र पदयात्रामा युरोपमा ख्याति कमाएका अष्ट्रियाका आफ्ना साथी स्टेफन केकलाई सम्पर्क गरे ।
“स्टेफनकै सहयोगमा मैले अष्ट्रियाको टिभीलाई भूकम्प र मानिसले भोगेका कष्टबारे प्रत्यक्ष अन्तर्वार्ता दिएँ, नेपालीलाई सहयोग गर्न आव्हान गरेँ,” भूकम्पपछि चौथो पटक नेपाल आएर फर्कनु अघि जोसेफले रासससँग भने ।
अष्ट्रियाबाट कपडा, त्रिपाल, स्लिपिङ ब्याग, खाद्यान्न, औषधिसहितका कैयौँ सामग्री आए । दोलखा, रसुवा, गोर्खा, नुवाकोटलगायतका भूकम्प प्रभावित जिल्लामा ती सामग्री वितरण भयो । दोलखा रोल्वालिङमा तत्कालै हेलिकप्टरबाट चिकित्सक र परिचारिका लगेर पटकपटक उपचार सेवा उपलब्ध गराइयो । भत्केका बाटो मर्मत र काठका कच्ची पुल बनाएर आवतजावत सहज बनाउने काममा हातेमालो गर्ने काम भयो ।
करिव ६२ हजार किलोग्राम सामान किन्न दश लाख, हवाई ढुवानीमा एक लाख तथा निर्माण, यातायात र व्यवस्थापनमा एक लाख यूरो लागेको जोसेफले जानकारी दिए । स्टेफनको सहयोगमा रोल्वालिङ र मनास्लुमा एक÷एक स्वास्थ्य चौकी भवन बनाउने र रोल्वालिङमा सौर्य उर्जा विस्तार गर्ने काम थालिएको छ । त्यसमा एक लाख यूरो लाग्नेछ ।
भूकम्पले नौ हजार नेपालीको ज्यान लियो । एक्काइस हजार घाइते भए । आठ लाख घर भत्किए । पुरातात्विक सम्पदा क्षेत्रका ४५० संरचना भत्किए । जम्माजम्मी रु सात खर्वभन्दा बढीको क्षति भएको आकलन गरिएको छ ।
जोसेफ, स्टेफन, क्रिस्टिना हर्वरसहितको अष्ट्रियाली समूहले “नेपाललाई मद्धत गर, नेपाल भ्रमण गर” अभियान चलाए । फलस्वरुप अष्ट्रिया, जर्मनी र स्वीट्जरल्यान्डका पर्यटक नेपाल आए । तिनीहरुले रोल्वालिङ, खुम्बु र मनास्लुको पदयात्रा गरे । नेपालका ठाउँ ठाउँ घुमे ।
त्यो समूहले हिमालयन पिस एजुकेसन फाउन्डेसनसँग मिलेर नुवाकोट ककनीस्थित निगालेमा रु ६ लाखको लागतमा ब्रम्हेश्वरी निमाविमा जस्ताको पाँच कोठे र दोभान गाउँमा सुनकन्या प्राविमा रु दुई लाखको लागतमा बाँसको पाँच कोठे अस्थायी भवन बनाएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए । दोभान गाउँमै शिशु कक्षा चलाउन भवन बनाउन सहयोग जुटाउने काम भइरहेको छ ।
“पर्यटन प्रवद्र्धन, भूकम्पपछि विद्यालय भवन तथा घर निर्माण र राहत वितरणमा यो समूहले मन खोलेर सहयोग ग¥यो,” फ्रेन्ड्स एडभेन्चर टीम प्रालिका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर लामाले समूहको प्रशंसा गर्दै भने ।
धौलागिरि प्रथम, सिसापाङगमा, चोयु, मनास्लु चढेर सन् २०१७ मा सगरमाथा चुम्ने लक्ष्य राखेका स्टेफन स्वास्थ्य चौकी र सामुदायिक भवन बनाउने प्रतिवद्धतासहित भूकम्पपीडितलाई सहयोग जारी राख्ने बताउँछन् ।
अष्ट्रियाली समूहसँग दुई साता खुम्बु क्षेत्रको पदयात्रा सकेर मनास्लु हिँडेका स्टेफन अहिले प्रसिद्ध विमानचालक, ओलम्पिक खेलाडी र क्यामरामेनको सहभागितामा ‘नेपाल घुमघामका लागि सुरक्षित छ’ भन्ने वृत्तचित्र बनाउँदैछन् ।
डेढ दशकदेखि नेपाल आइरहेका स्टेफनले भने – “युरोपमा ज्यानको जोखिम मोलेर आठहजार मिटर अग्ला हिमाल आरोहण गर्नुलाई साहसिक र गर्वको कुरा मानिन्छ । हाम्रो सपना पूरा गर्न शेर्पाले सघाए । त्यसैले नेपाल आउन र सहयोग गर्न मन लागिरहन्छ ।”
रोल्वालिङ क्षेत्रमा होटल, लज, प्याराग्लाइडिङ, स्किसहितका साहसिक पर्यटन प्रवद्र्धन गर्ने दीर्घकालीन लक्ष्य साँचेका छन् जोसेफले । जोसेफले भने – “विपत्मा उद्धार गर्न पाएँ । स्वास्थ्योपचार र पुनःनिर्माणमा सहयोग गर्न पाएर सन्तोष लागिरहेको छ ।”
पदयात्रा, नयाँ योजनाको खोजी, चालु योजनाको निरीक्षण र नेपाली साथीभाइसँगको न्यानो भेटघाटमा व्यस्त रहँदा जोसेफलाई अचेल अष्ट्रियाको आफ्नै घर बिर्सेजस्तो भएको छ । धेरै समय नेपालमै बित्छ । “परिवारले विदा मनाउन अष्ट्रिया आउने होइन भनेर जिस्काउँछन, तर नेपाल घुम्नेबस्ने धोको पुगेकै छैन,” जोसेफ थप्छन् ।
स्कि र पदयात्राजस्ता अष्ट्रियाका पर्वतीय गतिविधिमा किशोर वयदेखि नै आकर्षित जोसेफले तिनताका नै नेपालका अग्ला चुचुरा चढ्ने महत्वाकाँक्षा राखेका थिए । त्यो आकाङ्क्षा सन् १९८६ मा पूरा भयो । त्यही वर्ष जोसेफले तिब्बत र नेपालबीचको नाङवाला भञ्ज्याङ (पाँच हजार ७०० मिटर) हुँदै चोयु (आठ हजार २०१ मिटर) हिमाल आरोहणको प्रयास गरे ।
मौसम बिग्रँदा पहिलोपटक सात हजार उचाइबाट फर्केका जोसेफले १२ वर्षपछि चोयुको चुचुरो चुमेरै छाडे । सन् २००४ मा आमादब्लम (छ हजार ८१२ मिटर) आरोही फुर्वा थुन्डुपसँगै चढे । दुई वर्षपछि पुमोरी हिमाल चढ्दा भएको दुर्घटनामा फुर्वा बिते । त्यसपछि फुर्वाको घर निर्माण र बच्चालाई पढ्न सहयोग गरेका जोसेफले सोही घटनापछि उनकै भाइ फुर्वा तेन्जिङ शेर्पासँग मित्रता बढाए ।
“पुमोरीमा हामी बाँच्यौ, त्यसपछि हिमाल आरोहण र सामाजिक काममा सँगसँगै छौ,” २४ वर्षकै उमेरमा नौ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान रचेका फुर्वाले भने । जोसेफको समूहले रोल्वालिङसहितका क्षेत्रमा भूकम्पपछि गरेको सहयोग अनुकरणीय रहेको फुर्वाको बुझाइ छ । फुर्वासँगै जोसेफले सन् २०१२ मा नेपाल हुँदै सगरमाथाको चुचुरो चुम्ने जीवनको धोकोसमेत पूरा गरे । सिसापाङमा (आठ हजार १५ मिटर), पुमोरी (सात हजार १६१ मिटर), आमादब्लमसहित ६÷७ हजार मिटर अग्ला हिमाल र चुली भने धेरै पटक आरोहण गरेको अनुभव जोसेफसँग छ ।
हिमाल र हिमाली जनजीवनमा रमाउने जोसेफः नेपाल र नेपाली भनेपछि हुरुक्कै हुन्छन् । “सुन्दर हिमाल र नेपालीको न्यानो आतिथ्यताले पटकपटक नेपाल आउन प्रेरित गर्छ, त्यसैले नेपाल मेरो दोस्रो घर भएको छ,” नेपालप्रतिको माया दर्शाउँदै कपडा निर्यातको पेसा अँगाल्दै आएका जोसेफ भन्छन् ।
– सूर्यचन्द्र बस्नेत