मेडिकल काउन्सिलको परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण

0

काठमाडौंं, १३ मङ्सिर । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकको प्रमाणपत्र (लाइसेन्स)को परीक्षामा आधाभन्दा बढी चिकित्सक विद्यार्थी अनुत्तीर्ण भएका छन् । काठमाडौँको स्वयम्भू सानो भ¥याङ्स्थित आर्मी प्रतिष्ठानमा शनिबार भएको परीक्षा ५१० जना चिकित्सक विद्यार्थीले परीक्षा दिएका थिए । जसमा २५२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।
चिकित्सातर्फ ४६९ विद्यार्थीले परीक्षा दिएकामा २४६ विद्यार्थी उत्तीर्ण भएका छन् भने दन्त चिकित्सातर्फ ४१ जना विद्यार्थीमा जम्मा छ जनामात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएकाले पनि अहिले यस्तो नतिजा आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजभोलि विद्यार्थीले मेहनत गरी नपढ्ने भएकाले पनि अनुत्तीर्ण सङ्ख्या बढेको हो, अर्को परीक्षामा पास भइहालिन्छ भन्ने मानसिकताका कारण बढी अनुत्तीर्ण भएको हुन सक्छ ।” लाखौँको लगानीमा विभिन्न स्थानमा गई चिकित्सा विषय पढेका विद्यार्थीले काउन्सिलको परीक्षा उत्तीर्ण नगरेसम्म पेसा गर्न नपाउने प्रावधान छ । यसरी अनुत्तीर्ण हुनेको सङ्ख्या वृद्धि हुनुले योग्य चिकित्सकप्रति प्रश्न उब्जने हुनाले विद्यार्थीलाई मेहनत गरी पढ्न डा शर्माले आग्रह गर्नुभयो ।
यसैबीच, शनिबार काउन्सिलको परीक्षामा अर्कैको नामबाट परीक्षा दिइरहेका दुई विद्यार्थीलाई पक्राउ गरिएको छ । अर्कैको नामबाट परीक्षा दिइरहेका महाराजगन्ज मेडिकल कलेज (टिचिङ) का चिकित्सक डा सुशील मण्डल र अर्का सुरेश साहलाई पक्राउ गरिएको हो ।
डा शर्माका अनुसार मण्डलले विद्यार्थी अर्बिनकुमार यादवको नामबाट र साहले नीरज शर्माको नामबाट परीक्षा दिइरहेका समयमा पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, “पहिले अनलाइन फारम भर्ने व्यवस्था थिएन यस वर्षदेखि अनलाइन फारम भर्दा नै उनीहरुले सक्कली परीक्षार्थीको ठाउँमा आफ्नो फोटो राखी फारम भरेका रहेछन् शङ्का लागेर जाँच गर्दा नक्कली भएको पाइयो ।”

Leave A Reply

Your email address will not be published.