पोखरा, १२ मङ्सिर । कास्की जिल्लामा रगतको अभाव भएपछि रेडियो अन्नपूर्ण, पोखराले आज आकस्मिक रक्तदान कार्यक्रम
आयोजना गरेको छ । नाकाबन्दीका कारण इन्धनको चरम अभाव भएसँगै नियमितरुपमा हुने रक्तदान कार्यक्रमसमेत प्रभावित
भएपछि कास्कीमा रगतको अभाव भएका कारण आकस्मिक रक्तदान आयोजना गरिएको रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रेडियोले प्रत्येक वर्ष चैतको तेस्रो हप्ता नियमित रक्तदान कार्यक्रम सञ्चालन
गर्दै आएको जानकारी गराउँदै उहाँले नाकाबन्दीसँगै ब्लड बैंकमा रगत अभाव भएका कारण आकस्मिक रक्तदान आयोजना गरिएको
उल्लेख गर्नुभयो । श्रेष्ठका अनुसार रेडियोले २०५८ साल यता नियमित १४ पटक र आकस्मिक चार पटक गरी १८ पटक रक्तदान
कार्यक्रम सम्पन्न गरिसकेको छ । कास्की जिल्लामा एक हजार २०० देखि एक हजार ६०० युनिटसम्म रगत आवश्यक हुने भए पनि
इन्धनको चरम अभावसँगै रक्तदान कार्यक्रम प्रभावित हुने गरेको ब्लड बैंक, कास्कीका प्रमुख ध्रुवमणि लामिछानेले बताउनुभयो ।