कांग्रेसले किन गर्‍यो संसद अवरुद्ध ?

0

काठमाडौं, १० मंसिर । व्यवस्थापिका–संसदको बैठक मंसिर १५ गतेसम्मका लागि स्थगित भएको छ । विहीबारको बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका थिए ।
संसदीय परम्परामा सबैभन्दा पहिले प्रमुख प्रतिपक्षी दललाई बोल्न दिनुपर्ने भन्दै कांग्रेस सांसदहरुले यादवलाई बोल्न दिएकोमा विरोध गर्दै होहल्ला गरेका हुन् । कंग्रेस सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख घर्तीले मंसिर १५ गते बिहान ११ बजे बस्ने गरी संसद बैठक स्थगित गरिन् ।
बैठक स्थगित भएपछि कांग्रेस सांसदहरुले सभामुख घर्तीले सत्तापक्षसँग मिलेर प्रक्रिया मिचेको दाबी गरे । फोरम अध्यक्ष यादवले भने कांग्रेसले आफूहरुको आवाज दबाउनका लागि निषेधको राजनीति गरेको आरोप लगाए । बैठक स्थगित गरेपछि सन्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले मुख्य सचेतकहरुसँग सल्लाह गरेरै विशेष अवस्थाका कारण फोरम अध्यक्ष यादवलाई बोल्न दिइएकाले त्यसलाई अन्यथा लिन नहुने बताइन् ।
देशले भोगिरहेको समस्या समाधानको विषयमा मधेशी मोर्चाको तर्फबाट यादवले बोल्न चाहेपछि विशेष अवस्थाका लागि प्रमुख प्रतिपक्षभन्दा पहिले यादवलाई बोल्न दिएको सभामुखको तर्क छ ।

Leave A Reply

Your email address will not be published.