मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक

काठमाडौं, ११ कात्तिक । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग जारी वार्ता सकारात्मक दिशातर्फ उन्मुख भइरहेको जनाउँदै केही दिनमै सहमति हुने विश्वास व्यक्त गरेका छन् । राप्रपा नेपालको अध्यक्षसमेत रहेका थापाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।
उनले कार्तिक १४ गने मधेसी मोर्चासँग पुनः वार्ता हुने जानकारी दिदैं अघिल्ला चरणको वार्ताले दुबै पक्षबीच विश्वासको वातावरण निर्माण गरेको दाबी गरे । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा थापाले आपूर्ति सहज तुल्याउन निरन्तर प्रयास भइरहेको भन्दै सबै विकल्पमा प्रयास गरिने बताए । बैठकले पार्टीको केन्द्रीय परिषद बैठक आगामी मंसिर ६ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।