संवैधानिक कानुनी इतिहासका ‘धु्रवतारा’

नेपालको संवैधानिक कानुनका अग्रणी वरिष्ठ अधिवक्ता गणेशराज शर्माको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । वरिष्ठ अधिवक्ता शर्मालाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला, माधवकुमार नेपाल, शेरबहारदुर देउवा, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, महान्यायाधीवक्ता हरिकृष्ण कार्की, नेपाल बार एसोसिएसनका वर्तमान पदाधिकारी, बारका पूर्व अध्यक्ष शम्भु थापा, हरिहर दाहाल, विश्वकान्त मैनाली, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरु आर्यघाटमा पुग्नुभएको थियो ।
वरिष्ठ अधिवक्ता शर्माको आज ७९ वर्षको उमेरमा निधन भएको थियो । उहाँ तीन वर्षदेखि डिमेन्सीया (बोल्न र सम्झन नसक्ने) समस्याका विरामी हुनुहुन्थ्यो । वरिष्ठ अधिवक्ता शर्माकी भान्जी सरिता उपाध्यायका अनुसार उहाँ बोल्न र सम्झन नसक्ने अवस्थामा हुनुहुन्थ्यो । उहाँलाई आफ्नै निवासमा उपचारको व्यवस्था मिलाइएको थियो । उहाँको आफ्नै निवास धोबीधारामा निधन भएको हो ।
संवैधानिक जटिलताका विषयका ज्ञाता वरिष्ठ अधिवक्ता तत्कालीन नेपाली काँग्रेसका नेता तथा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका कानुनी सल्लाहकार हुनुहुन्थ्यो । तर उहाँ राजनीतिक हिसाबले भेदभाव भने गर्नुहुन्नथ्यो । स्वतन्त्र न्यायपालिकाका अनुयायी वरिष्ठ अधिवक्ता शर्माले विभिन्न किसिमका नजिरहरु स्थापना गर्न सर्वोच्च अदालतलाई सहयोग गर्नुभएको थियो ।
“पेसाप्रति अति इमान्दार र निष्ठावान व्यक्ति हो, वकालत पेसालाई आचारसंहिता अनुरुप र मर्यादित बनाउन उहाँको ठूलो योगदान छ”–पूर्व सभामुख तथा वरिष्ठ अभिवक्ता दमननाथ ढुङ्गानाको स्मरण छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शर्माले सुरुदेखि नै आफ्नो भनाई एउटै राख्नुभएको थियो । उहाँले संसद् विघटन प्रधानमन्त्रीको अधिकार भएको वकालत गर्दै आउनुभएको थियो । वरिष्ठ अधिवक्ता शर्माको नेपालको संवैधानिक विकासमा अतुलनीय योगदान भएको र उहाँ अति विद्वान्, तर्कशक्ति धेरै नै भएका र पेसामा अत्यन्तै इमान्दार व्यक्ति भएको र आधुनिक बारको निर्माणमा समेत उहाँको ठूलो सहयोग भएको आफूले पाएको वरिष्ठ अधिवक्ता ढुङ्गानाले सुनाउनुभयो ।
डा के आइ सिंहको मुद्दामा पनि वरिष्ठ अधिवक्ता शर्माले राज्यको विरुद्ध लडेर आफ्नो कुशलता देखाउनुभएको र नेपालको लोकतन्त्र र स्वतन्त्र न्यायपालिका उच्च कोटीको बनाउने र वकालत पेसालाई प्राज्ञिक रङ दिन प्रतिबद्ध व्यक्ति हुनुभएको उहाँले बताउनुभयो ।
“नेपालको संसदीय प्रजातन्त्र र संवैधानिक कानुनका ज्ञाता उहाँ पहिलो व्यक्ति नै हो, अडान कहिलेपनि परिवर्तन नगर्ने, यो वा त्यो आस्थाका कारण विभेद नगर्ने हुनुहुन्थ्यो”–नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई सम्झनुहुन्छ ।
सरकारी जागीरमा कहिल्यै पनि रुचि नभएका वरिष्ठ अधिवक्ता शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि धेरै पटक आग्रह गर्दा पनि उहाँले त्यसलाई अस्वीकार गर्नुभएको थियो । उहाँ सदा न्याय र सत्यको पक्षमा वकालत गर्नुहुन्थ्यो, जुन पायो त्यही मुद्दामा उहाँ पैरवी गर्नुहुन्नथ्यो । वरिष्ठ अधिवक्ता शर्मा विगत लामो समयदेखि अदालत गई वकालत गर्न छाडिदिनुभएको थियो । संविधान तथा कानुनको इतिहासमा उहाँ धु्रवतारा जस्तै मानिनु हुनुहुन्थ्यो । वरिष्ठ अधिवक्ता शर्मासँग सल्लाह लिनेहरुको उहाँको घरमा घुइँचो नै लाग्ने गर्दथ्यो ।
कालिका खड्का