काठमाडौं, १० कात्तिक । राष्ट्रपति पदमा भोलि हुने निर्वाचनमा तीन जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेको तर्फबाट पार्टी उपाध्यक्ष विद्या भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेपाली कांगे्रसका तर्फबाट कुलबहादुर गुरुड र नेपाल मजदुर किसान पार्टीको तर्फबाट नारायण मानन्धरले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न १२ बजेर ५ मिनेट जाँदा सो उम्मेदवारी दर्ता गरिएको हो । भण्डारीका प्रस्तावकमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्छ । त्यस्तै समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरी, नेकपा(माले)का महासचिव सिपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(संयुक्त)का सांसद जयदेव जोशी, राप्रपा संसदीय दलका नेता दीपक बोहरा, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)का सांसद शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी, नेपाल परिवार दलका सांसद एकनाथ ढकाल हुनुहुन्छ ।
गुरुङको प्रस्तावमा काँग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले काँग्रेस पुरानो एवम् लोकतान्त्रिक पार्टी भएको र आफू त्यसको सक्रिय र पुरानो कार्यकर्ता भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिएको बताउनुभयो ।
व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न १२ः१५ मा नेता महर्जनले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा सोही पार्टीका सांसद प्रेम सुवाल र समर्थकमा डिल्लीप्रसाद काफ्ले रहनुभएको छ ।
उम्मेदवारी दर्ता गराएपछि महर्जनले संवैधानिक व्यवस्थानुसार नै आफूले उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिनुभयो । संविधान लेखन प्रक्रिया र राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले खेलेको भूमिकालाई संसद्मा रहेका सबै राजनीतिक दलले सम्मान गर्ने र आफूलाई विजयी गराउने जिकिर उहाँले गर्नुभयो ।