रिपोर्टरको कष्टकर दसैँ यात्रा

0

हिन्दूको महान् चाड दसैँको मुखैमा आएर भारतले अघोषित रूपमा नाकाबन्दी गरेका कारण इन्धनमा समस्या आएपछि सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्नुप-यो । दसैँ मनाउन रुपन्देही (बुटवल) जाँदै गर्दा बाटाको दृश्य बोलिरहेको थियो कि यात्रुले कस्तो सास्ती बेहोर्नुपरेको थियो । घटस्थापनाको अघिल्लो दिन अर्थात् असोज २५ गते काठमाडौँदेखि बुटवलसम्मको सडकमा गाडीको छत र भ-याङमा झुन्डिएर हजाराँै यात्रु गन्तव्यतर्फ लागेका थिए ।
काठमाडौँबाट मोटरसाइकलमा गन्तव्यतर्फ लम्केको पङ्क्तिकार टीका थाप्न जानुपर्ने पाल्पा तर भैरहवाबाट मगाएको सात लिटर पेट्रोलले बल्लतल्ल बुटवलसम्म पुग्यो । बाटामा जाँदै गर्दा गाडीको छत र भ-याङमा उभिएर मानिसले निकै कष्टपूर्ण यात्रा गरिरहेका थिए ।
त्यसो त हामीसँग मोटरसाइकलमा भएको सात लि तेलले बुटवलसम्म पनि पुग्दैन कि भनेर थानकोटपछिको ओरालो र अन्य धेरै ओराला बाटामा मोटरसाइकलको ‘स्टार्ट’ नै बन्द गरेर यात्रा गर्नुप-यो । हरेक वर्ष दसैँको महिना दिनअगाडि सर्वसाधारणलाई यातायातको सुरक्षित टिकटको व्यवस्था गरिए पनि नेपालमा संविधान जारी भएसँगै भारतले लगाएको अघोषित नाकाबन्दीले निम्त्याएको समस्याका कारण यसपालि भने त्यसो हुन सकेन । मानिसहरू जहाँ जतिबेला गाडी पायो त्यति नै बेला यात्रा गर्न बाध्य हुनुप-यो ।
बल्लतल्ल बुटवल पुगियो, बुटवल पुग्दा पनि तेलको समस्याले रिक्सा धेरै गाडी थोरै देखिन्थे । एक जना गाउँको गाडीवाला दाइलाई गाडीका लागि फोन गर्दा बुटवलमा डिजेल मिलाइदिने भए आउनू भन्नुभयो । त्यो सम्भव थिएन ।
त्यो दिन बुटवल बसेर (दसैँको घटस्थापना) अर्को दिन बुटवलबाट गाडीमा पाल्पा जानका लागि बसपार्क पुग्दा गाडीभन्दा मान्छेको भिड देखिन्थ्यो । बसपार्कमा गाडी कुरिरहेका मानिसको अनुहार हेर्दा घर जान नपाउने जस्तो निरास देखिन्थ्यो । जसरी भए पनि घर पुग्नुपर्ने, गाडीको छतमा बसेर पाल्पातर्फ लागियो । मैले त बरु बसको छतको अगाडिपट्टि बस्ने ठाउँ पाएँ । तर धेरै यात्रुमाथि चढ्ने भ-याङको मुखैमा कष्टपूर्ण बस्दै थिए ।
छेउमै बस्ने एक जना बुवाले भन्नुभयो–“यसपालिको दसैँ कस्तो खल्लो हुने भयो, तेल नपाएर गाडी कम चल्दा यस्तो समस्या आएको हो, घरबाट टाढा बस्नेहरु दसैँमा कसरी घरसम्म आइपुग्छन् ?” छतमा महिला पुरुष बराबरी सङ्ख्यामा थिए ।
बुटवलबाट पाल्पा सदरमुकाम तानसेन जाँदै गर्दा बाटामा अन्य गाडीको छतमा पनि उत्तिकै मान्छे देखिन्थे । अझै मोटरसाइकलमा तीन जना र ट्याक्टरमा समेत बसेर मानिस गन्त्यव्यतर्फ जाँदै थिए । कतिपय हिँडेर पनि यात्रा गरिरहेका थिए । बेलुका गाउँमा पुग्दा सुनसान जस्तै थियो । अघिल्लो वर्षको दसैँमा टाढा टाढा बस्ने गाउँले यतिबेला घर पुगिसकेका हुन्थे । तर यस वर्षको दसैँमा गाडी कम चल्दा टीकाको दिनसम्म गाउँ पुग्दै थिए ।
यस पटकको दसैँमा गाउँमा पनि त्यति उत्साह देखिँदैनथ्यो । गाडीको समस्याले गर्दा टीका थाप्न आउनुपर्ने धेरै आफन्तसमेत यसपालि आउन सक्नुभएन । टीकाको अर्को दिन कात्तिक ६ गते काठमाडौँ जानका लागि ओरालोमा स्टार्ट बन्द गरेर भए पनि बुटवलसम्म मोटरसाइकलमा आइयो । बुटवलबाट ८ बजे रात्रिबसको सिटमा बसेर काठमाडौँ आउन पाइयो ।
सुशील दर्नाल

Leave A Reply

Your email address will not be published.