नाकाबन्दी खोल्न भारत सरकारको निर्देशन

काठमाडौं, १६ असोज । भारतले नेपालमा लगाउँदै आएको अघोषित नाकाबन्दी खोल्न मातहतका निकायलाई निर्देशन दिएको छ । भारतको विदेश मन्त्रालयले शनिबारैबाट नेपाल–भारतका सबै नाकामा आवत–जावतमा देखिँदै आएको अवरोध सहज बनाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्यूयोर्कबाट फर्किएपछि नाकाबन्दी खोल्न निर्देशन दिएसँगै नेपालसँग सीमा जोडिएका नाकाहरुबाट सामानहरु नेपाल भित्रनेक्रम सुरु हुने अपेक्षा गरिएको छ ।
नेपालमा संविधानसभामार्फत् गत असोज ३ गते नयाँ संविधान घोषणा भएलगत्तै मधेस आन्दोलनका कारण असुरक्षा बढेको बहानामा भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्दै आएको थियो ।
नाकाबन्दीका कारण नेपालको ढुवानी र पारवहनका मुख्य नाकाहरु वीरगञ्जको रक्सौल , भैरहवाको सुनौली, विराटनगरको जोगवनी, काँकडभिट्टाको पानी ट्यांकी, कन्चनपुरको गड्डाचौकी, बाँकेको जमुनाहलगायतबाट अत्यावश्याक वस्तुहरु नेपाल भित्रन सकेका थिएनन् ।
नाकाबन्दीका कारण नेपालमा ग्याँस, पेट्रोल, डिजेल जस्ता पेट्रोलियम पदार्थको चरम अभाव भएको थियो । भारतीय नाकाबन्दीको चर्को विरोध भएसँगै सरकारले पेट्रोलियम पदार्थको वितरणमा कोटा र सवारी–साधन सन्चालनमा जोर विजोर प्रणाली लागू गरेको थियो ।