काठमाडौं, १३ असोज  । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितिको समाधान गर्न कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले अहिलेको असहज परिस्थितिले नेपाललाईभन्दा भारतकै अहित गर्ने बताए ।
आफूहरुले ऋषिमन मात्र होइन, बुद्धमनका साथ शान्ति चाहेको भन्दै खनालले सीमामा हुने अवरोध भने सहन नसक्ने बताए । कार्यक्रममा एमाओवादी नेता नारायणकाजी श्रेष्ठले वार्ता र सहमतिबाट नै मधेसको समस्या समाधान गर्नुपर्ने र सहमतिको आधारमा राजनीतिक सम्बोधन हुने बताए ।
उनले आन्दोलनरत् मधेसी दलले भारतको बुइ चढेर आन्दोलनलाई लम्ब्याएमा उनीहरुको जायज माग पनि पूरा गर्न गाह्रो हुने बताए । यस्तै, कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकारको कुटनीतिक असफलता र पार्टीहरुको अहंकारका कारण समस्या सिर्जना भएको भन्दै तीन दलका नेताले मधेसको समस्या आफ्नै हो भनेर सल्टाउन खोजे तत्काल समाधान हुने जिकिर गरे ।
मधेसी नेता जितेन्द्र देवले तीन दल, मधेसी दलहरु र भारतीयहरुमा पनि अतिबाद हावी भएका कारण समस्या आएको भन्दै सबै अतिवादविरुद्ध लड्नुपर्ने आवश्यक्ता औंल्याए ।