तेल वितरणमा आजदेखि कोटा प्रणाली

0

काठमाडौं, ११ असोज । सरकारले सोमबारदेखि पेट्रोल र डिजेल वितरणमा कोटा प्रणाली लागू गर्ने भएको छ । पेट्रोलियम पदार्थको मौज्दात न्यून रहेकाले कोटा प्रणालीमा वितरण गर्न लागिएको हो। वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृहमन्त्रालयको संयुक्त बैठकले कोटा प्रणालीमार्फत पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने निर्णय गरेको हो। निगमका प्रवक्ता दीपक बरालका अनुसार निर्धारित कोटाअनुसार पालो परेको दिन (जोर/बिजोर नम्बरको आधारमा) निजी मोटरसाइकललाई सातामा तीन लिटर पेट्रोल उपलब्ध गराइनेछ।
यसैगरी पालो परेकै दिन निजी कार, जिप र भ्यानलाई सातामा १० लिटर पेट्रोल वा डिजेल उपलब्ध गराइनेछ। लामो दूरीका यात्रुवाहक ठूलो बसलाई पालो परेको दिन दैनिक ३० लिटर, छोटो दूरीको सानो मिनिबसलाई दैनिक २० लिटर र माइक्रोलाई पालो परेको दिन दैनिक १५ लिटर उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।
पालो परेको दिन ट्याक्सीलाई दैनिक १० लिटर र सरकारी सवारी साधनलाई सातामा १० लिटर तेल उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । विद्यालय तथा कलेजका सवारी साधनलाई दैनिक २० लिटर उपलब्ध गराइनेछ।
एम्बुलेन्स, दूध तथा प्रेसको गाडीलाई आवश्यकताअनुसार तेल उपलब्ध गराइनेछ।सरकारले कोटा प्रणालीमार्फत सरकारी स्वामित्वको ११ वटा पेट्रोल पम्पमार्फत पेट्रोलियम पदार्थ वितरण गर्ने व्यवस्था मिलाएको छ।

Leave A Reply

Your email address will not be published.