पितृ पक्ष सोह्र श्राद्ध आजदेखि सुरु

0

काठमाडौं, ११ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत रहेको छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्ध जस्ता श्राद्धहरु प्रचलित छन् ।
यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । “सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ, सोमबार पूर्णिमा उपरान्त प्रतिपदा भएको र अपराह्नमा प्रतिपदा भेटेकाले प्रतिपदा श्राद्ध आजै गर्नुपर्छ, आजैबाट पितृपक्ष पनि सुरु भएको छ”–उहाँले भन्नुभयो ।
सोह्र श्राद्धलाई पितृ तृप्तिका निमित्त उत्तम समय मानिएकाले श्राद्ध गर्ने गरिएको हो । बाबुको तिथिमा सोह्रश्राद्ध गर्नु उत्तम भनी शास्त्रमा वर्णन गरिएको पनि प्रा डा गौतमले जानकारी दिनुभयो । यस वर्ष द्वादशी तिथिमा मघा नक्षत्र परेकाले छोरा हुनेले त्यस दिन श्राद्ध गर्नु नहुने शास्त्रीय विधान रहेको पनि समितिले जनाएको छ । सोह्र श्राद्धभर काठमाडौँको उत्तर पूर्वमा रहेको गोकर्णेश्वर उत्तरगया धाममा श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ ।

Leave A Reply

Your email address will not be published.