विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपाल पत्रकार महासंघका बैदेशिक शाखाहरुको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न,

लन्डन – नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले प्रेस स्वतन्त्रता नेपालको कानूनमा प्रत्याभूत हुन नसकेको बताउंदै प्रेस स्वतन्त्रता मैत्री कानून निर्माणका लागि आफुहरुले काम गरिरहेको बताएका छन् । उनले प्रवासमा क्रियाशील पत्रकारहरुलाई पनि यसमा सहयोग गर्न आग्रह गरे ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघका बैदेशिक शाखाहरुले संयुक्त रुपमा आयोजना गरेको भर्च्युअल कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले गएको एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ ओटा घटनाहरु भएको र त्यसबाट ९३ जना पत्रकारहरु प्रभावित भएको बताए। पत्रकारहरुका लागि विश्व प्रेस स्वतन्त्रता दिवस आफ्ना कामहरुको समीक्षा गर्ने र भोलिको योजना बनाउने दिन भएको उनले बताए । “हाम्रो पत्रकारिताबाट समाज कति लाभान्वित भएको छ, प्रेस स्वतन्त्रताको स्थिति कस्तो छ ? समीक्षा गर्ने दिन पनि हो,” पोखरेलले भने । “विदेशमा बसेर पत्रकारिता गर्दा तपाईंहरुको समस्या हामीले बुझेका छौं। आफु सुरक्षित रहँदै प्रेस स्वतन्त्रताको उच्चतम अभ्यास गर्नु होला। पत्रकारितामा संसार भरिको अभ्यास कस्तो छ, नेपालको अभ्यास कस्तो छ? बहस गर्ने, सिक्ने सिकाउने केन्द्रको रुपमा वैदेशिक शाखाहरु रहन पनि उनले सुझाव दिए। प्रवासमा बसेर पनि नेपाली समुदायलाई सुसूचित गर्न नेपाली पत्रकारहरुले पुराइ रहेको योगदानको महासंघले उच्च सम्मान गरेको उनले बताए।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले विदेशमा बसेर पनि नेपाली भाषा, संस्कृति र कलाको जगेर्ना गर्न काम गरिरहेको भन्दै प्रवासमा क्रियाशील पत्रकारहरुले गरिरहेको काम सह्राहना योज्ञ र अनुकरणीय भएको बताए । उनले प्रवासमा रहेका मिडियाले विदेशको कुरा नेपालमा र नेपालका कुरा विदेशमा पुराइ रहेको बताए । उनले गत वर्ष युएइमा थुनामा परेका पत्रकारलाई रिहा गर्न महासंघले पहल गरेको स्मरण गरे। उनले प्रवासमा रहेका पत्रकारहरुलाई राजनीति नगर्न र केही समस्या भए महासंघभित्रै छलफल गरेर समाधान गर्न आग्रह गरे।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष बिकास राज न्यौपानेले अमेरिकामा २ दर्जन भन्दा बढी नेपाली अनलाइन पोर्टलहरु सन्चालनमा रहेको भन्दै नेजाले पत्रकारहरुलाई सघाउन २० हजार डलर बराबरको अक्षय कोष खडा गरेको बताए।
उक्त कार्यक्रममा अस्ट्रेलिया नेपाली पत्रकार संघका अध्यक्ष चिरन्जिबी देबकोटा , नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहारी, युएई शाखाका उपाध्यक्ष मोहन बस्याल, युरोप शाखाकी अध्यक्ष सरस्वती कार्की, कुवेत शाखाका अध्यक्ष नवराज पन्थी, कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, पोर्चुगल शाखाका संयोजक योगेन्द्र मिलन छन्त्याल, दक्षिण कोरिया शाखाका वरिष्ठ उपाध्यक्ष, सन्तोष खड्का, जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, युके शाखाका पूर्व अध्यक्ष चिरन शर्मा, युके शाखाका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियार, भारत शाखाका सचिव धनबीर पुन मगर, पोहोर साल युएइ थुनामा परेका पत्रकार उमाकान्त पाण्डे लगायतले प्रवासमा कार्यरत पत्रकारहरुले पटक, पटक धम्की व्यहोर्नु परेको र पत्रकारहरुको हकहितको रक्षा गर्न चुनौतीपूर्ण अवस्था रहेको बताएका थिए। उनीहरुले व्यावसायिक पत्रकारिताको आवश्यकता रहेकोमा जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ युके शाखाका सल्लाहकार भगीरथ योगीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन बेल्जियम शाखाका सचिब पेम्बा गेलु शेर्पाले गरेका थिए बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
