पाकिस्तानको प्रतिआतंकवाद कार्यालयमा विस्फोट, १५ जनाको मृत्यु
एजेन्सी : पाकिस्तानको स्वात उपत्यकामा रहेको प्रतिआतंकवाद विभागको कार्यालयमा भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
विस्फोटमा ५३ जना घाइते भएका छन् । जसमध्ये आठ जनाको अवस्था गम्भीर छ । घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा अधिकांश प्रहरी रहेका छन् । विस्फोटबाट प्रतिआतंकवाद कार्यालयको भवन ध्वस्त भएको छ ।
स्वात प्रहरीले प्रतिआतंकवाद विभागको कार्यालयमा भएको विस्फोट आतंकवादी कार्य नभएको जनाएको छ ।
पुरानो सीटीडी कार्यालयमा विस्फोट भएको थियो तर अहिले आतंकवादी हमलाको कुनै प्रमाण नभएको प्रहरीले जनाएको छ । यहाँ राखिएको हतियारमा विद्युत सर्टसर्किट भएर आगो लागेको थियो ।
पाकिस्तानी तालिबान समूहले हालैका दिनहरूमा यहाँ सुरक्षा बलहरूमा धेरै आक्रमणहरू गरेको छ । तर उसले यस विस्फोटको जिम्मेवारी भने लिएको छैन ।
प्रतिआतंकवाद विभागका क्षेत्रीय प्रमुख सोहेल खालिदले पनि कार्यालयमा भएको विस्फोट आतंकवादीले गराएको नभई त्यो एक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आफूलाई प्राप्त भएको बताएका छन् । कार्यालयमा राखिएका हातहतियार गोलाबारुदमा लापरबाहीका कारण आगो सल्केर विस्फोट भएको हुनसक्ने उनको अनुमान छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यसअघि विस्फोटलाई ‘फिदाइन आक्रमण’ भनेका थिए तर पछि भने विस्फोटको कारणबारे अनुसन्धान भइरहेको बताएका थिए ।
स्वात उपत्यकामा आतंकवाद विरोधी अभियान चलिरहेको छ । जसका कारण यहाँ सुरक्षा बलको उल्लेख्य उपस्थिति रहेको छ । सन् २०१२ मा आतंकवादीहरूले नोबेल पुरस्कार विजेता मलाला युसुफजाईलाई यस उपत्यकामा आक्रमण गरेका थिए ।