पोखरा : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
मंगलबार प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठन गर्न आह्वान भएको हो ।
६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ । प्रदेश सभामा नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद रहेका छन् ।
प्रदेश प्रमुख गुरुङले सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेश गर्ने तयारी गरेका छन् ।