काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले सामाजिक सञ्जाल पनि आम सञ्चारमाध्यामको रुपमा स्थापित हुन खोजिरहेको भन्दै नियमनको अवाश्यकता औंल्याएका हुन् ।
प्रमुख आयुक्त थपलियाले सामाजिक सञ्जालाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
प्रमुख आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन ? भनि प्रश्न समेत गरे ।
उनले सबै सञ्चार माध्यामहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्रह पनि गरे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिल नेपालले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझाव समेत दिए ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरिन् । भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन् ।
कार्कीले निर्वाचनबाट पुरानो मानसिकताहरु फिल्टर हुँदै गएको भन्दै नयाँ सोचाई भएका कर्मठ युवा, युवतीहरु आगामी दिनमा अझ आउनुपर्ने बताइन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका लागि मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरुलाई रोक्नका लागि आवश्यक परे विद्यमान कानूनलाई सच्याउनुपर्ने बताए ।
अध्यक्ष बस्नेतले गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको दाबी समेत गरे ।