सुर्खेत : सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ । 

छिन्चुदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्बरको जिप आइतबार बिहान साढे दुई बजे वीरेन्द्रनगर नगरपालिका ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे हो । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका ७ का २७ वर्षीय सागर शाही, दैलेखकाे डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनीहरूकाे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवं प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । 

दैलेख भैरवी गाउँपालिका ५ का २५ वर्षीय वीरेन्द्रराज शाही भने घाइते भएका छन् । उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।