काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर निर्वाचित भएकी छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा रानाको पक्षमा एक सय ६६ मत खसेको थियो भने विपक्षमा ९७ मत खसेको थियो ।

मतदानमा दुई सय ६४ सांसदले भाग लिएका थिए । एक जना तटस्थ रहेका थिए ।

मतदान प्रक्रियापछि सभामुख देवराज घिमिरेले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको हाल कायम संख्याको बहुमत प्राप्त गरेकाले राना उपसभामुखमा निर्वाचित भएको घोषणा गरे ।

रानालाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी थिइन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन रहेका थिए । 

रास्वपाकी रानालाई सत्ता साझेदार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।