किरातीहरुको पर्ब उधौली बेल्जियमबासी किराती समुदायले बिभिन्न सांस्कृतिक झाकी र नाचगान सहित शुभकामना आदान प्रदान गर्दै मनाएकाछन । बेल्जियमको ब्रुज शहरमा उधौली पर्ब मनाउन आयोजित कार्यक्रममा समाजका अग्रजहरु,कुमारीहरु, अतिथिहरुबाट पूजा र प्रशाद अर्पन गरेर सुरु गरिएको थियो ।
बेल्जियम र नेपालको राष्ट्रिय गान तथा किराती समुदायका कुमारीहरुबाट स्वागत पछी सुरु भएको शुभकामना आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका महासचिव पेम्वागेलु शेर्पाले आदिवासी जनजातिहरूले प्रवासमा पनि पूर्खाले मानिआएका संस्कृति र मौलिक पहिचानको संरक्षण र संरक्षणका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाल विविधतामा आधारित देश भएको बताउँदै धर्म संस्कृतिहरू पनि विविध प्रकार हुँदा आदिवासी जनजातिले आफ्नो पहिचानका लागि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।
समाजका संस्थापक अध्यक्ष डिल्ली सुब्बाले बिदेशी भूमिमा बस्दै गर्दा संस्कृति, संस्कार, भेषभूषा बिर्सने पो हो कि भन्ने चिन्ताले यो चाड आफूहरूले प्रत्येक वर्ष मनाउँदै आफ्नो पहिचानलाई जीवित राख्ने गरेको बताउनुभयो । उहाले किरातीहरू भूमिपुत्र भएको हुनाले प्रकृति र देवी–देवताको स्मरण गर्दै यो पर्व मनाउँदै आएको जानकारी दिनुभयो ।
अतिथिको रूपमा गैरआवासीय नेपाली संघ बेल्जियमकी सचिव सावित्री गिरीले नेपालीहरू संस्कार–संस्कृतिका धनी भएको स्मरण गर्दै विदेशी भूमि यसको संरक्षण हुन जरुरी भएको औंल्याउनुभयो,
बेनेलक्सका लागि महामहिम राजदुत गेहेन्द्र राजाभंडारीले पठाउनु भएको शुभकामना सन्देश संस्थाका सचिब दौलत साम्बाले सुनाउनु भएको थियो ।
कार्यक्रमको बिच बिचमा आफ्नो जातीय भेषभुषामा सजिएका समाजका महिला पुरुष र युबाहरुले प्रस्तुत गरेको सकेला नाचमा उपस्थित अतिथिहरुले पनि साथ दिएका थिए ।
कार्यक्रममा उपस्थित अतिथी र र सहयोगि एबम सहभागिहरुलाई धन्यबाद दिदै समाजकी अध्यक्ष कविता साउदेनले किरात समुदायको धर्म संस्कृतिको संरक्षण र सम्वर्धनका लागि विदेशमा समेत यो पर्वलाई अनिवार्य रूपमा मनाउनुपर्ने भएकोले समाजको स्थापनाकालदेखि नै यो पर्व मनाउन थालिएको बताउनुभयो । पौराणिक तथ्यमा यो पर्व प्रकृतिपुजाको लागि भएकोले बाँच्नका लागि आवश्यक हावा, पानी, माटोलाई समेत पुज्ने गरेकोले आफैमा यो पर्बको बिशेष महत्व रहेको छ भन्नु भयो ।
कार्यक्रमको सन्चालन समाजका सचिब दौलत साम्बाले गर्नु भएको थियो ।