लन्डन  (जीएनएन)– आम निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठनका लागि जोड घटाउ चलिरहेका बेला अब को राष्ट्रपति बन्ला भन्ने चर्चा समेत चुलिएको छ ।

नेपालको संविधान र कानूनबारे गहिरो ज्ञान भएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित, स्वच्छ छविका गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्नेमा धेरैको सहमति देखिन्छ ।

अहिले सम्भावित राष्ट्रपतिको पंक्तिमा पूर्व प्रधानन्यायाधीशदेखि सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरूको नाम समेत चर्चामा छ ।

यसैक्रममा बेलायतका एकजना प्रतिष्ठित नेपाली प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाम अग्रपंक्तिमा आएको छ ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सुवेदी लमजुङको एक सामान्य परिवारमा जन्मिएका हुन् । तर, लमजुङदेखि बेलायतसम्मको जीवनयात्रामा उनले कैयौं उपलब्धि हासिल गरेका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् उनी । अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि हासिल गर्ने व्यक्ति पनि उनी पहिलो हुन् ।

प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका उनले लिड्स, लन्डन र अक्सफोर्ड विश्वविद्यालयसहित संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन्।

नेपालमा जनमत संग्रह ल्याउने प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्दा जेलसमेत भोगेका प्रा सुवेदीले दोस्रो जन-आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा बौद्धिक र नैतिक समर्थन जुटाउन अग्रणी भूमिका निर्वाह गरेका थिए।

भारतीय नाकाबन्दीका बेला कूटनीतिक समाधान पहिल्याउन होस् वा अमेरिकी परियोजना एमसीसी पारित गर्न सकस परिरहेका बेला होस्, अप्ठेरो परिस्थितिमा नेपालका शीर्ष नेताहरुलाई सुझाव सल्लाह दिंदै संकटको गांठो फुकाउंदै आएका सुवेदी बेलायतको परराष्ट्रमन्त्रीका सल्लाहकार समेत भइसकेका छन् ।

‘वास्तवमा नेपालको अग्रगामी परिवर्तनका लागि प्राध्यापक सुवेदीलाई नेपालले खोज्नुपर्ने बेला आएको छ’, लन्डन बस्ने एनआरएनए अध्यक्ष कुल आचार्य भन्छन्, ‘उहां जस्तो वौद्धिक व्यक्तित्व राष्ट्रप्रमुख भइदिए देशले एउटा भरपर्दो अभिभावक पाउने र संवैधानिक प्रक्रियाले स्थायित्व पाउने आशा गर्न सकिन्थ्यो ।’

सुवेदीले नेपालमा गरेको योगदानवापत तत्कालिन राजा र राष्ट्रपतिबाट उच्चस्तरका कैयौं मान–पदवी उपाधि पाएका छन्।

१० मुलुकलाई कानूनी सल्लाह

उनले अन्तर्राष्ट्रिय कानूनका प्रायः सबै आयाममा १२ वटा विश्वस्तरका ग्रन्थ र ६० भन्दा बढी अनुसन्धात्मक लेख संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरेका छन् भने नेपाल र बेलायत लगायत चीन, नेदरल्यान्ड्स, भियतनाम, इन्डोनेसिया, लाओस र कतार गरि १० वटा देशलाई कानूनी सल्लाह दिएका छन्।

“मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीबाट मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता  उच्च उपाधि प्राप्त प्रा सुवेदी नेपाल र नेपालीले सम्मान गर्नु पर्ने विरलै व्यक्तित्वमा पर्दछन्,” लन्डनलाई कार्यथलो बनाएका व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले भने।  “यस्ता व्यक्तित्वलाई समयमै उचित जिम्मेवारी दिएर हामीले राष्ट्रको सम्मान र गौरव बढाउनु पर्छ। “

प्रा सुवेदीको विद्वत्ताको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालय र बेलायतको रोयल एसियाटिक सोसाइटीले उनको नाममा वार्षिक पुरस्कार स्थापना गरि उनलाई एक किसिमको बौद्धिक अमरत्व पनि प्रदान गरेका छन्।

संयुक्त राष्ट्र संघको विशेष प्रतिवेदक

क्याम्बोडियाका लागि संयुक्त राष्ट्र संघको विशेष प्रतिवेदकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका प्रा सुवेदीले नेपाल सरकारको प्रतिनिधि मण्डलको सदस्य भएर संयक्त राष्ट्र संघ र असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिएका छन् भने अन्य धेरै अन्तरराष्ट्रिय मंचमा नेपालको सशक्त प्रतिनिधित्व गरेका छन् । उनले अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोष फ्रान्सको मार्से शहरमा आयोजित विश्व सम्मेलनको कानूनी सल्लाहकारका रूपमा पनि काम गरेका छन्।

प्राध्यापक सुवेदीले गत सातामात्र बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका पाएका छन् ।

युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्जिट) पछि युरोपेली संघ र बेलायतबीच भविष्यको सम्बन्ध नियमन गर्ने एक सम्झौता भएको थियो।

‘व्यापार र पारस्परिक सहयोग’ नाम भएको उक्त सम्झौतामा युरोपेली संघ र बेलायतबीच कुनै विवाद उठेमा त्यस्ता विवाद दुवै पक्षले मन्जुर गरेका अन्तर्राष्ट्रिय कानूनका प्रबुद्ध विद्वानहरुको मध्यस्थता (आर्बीट्रेसन) बाट निराकरण गर्ने सहमति भएको थियो।

त्यही प्रावधान अनुसार युरोपेली संघ र बेलायतले अन्तरराष्ट्रिय कानूनका शीर्षस्थ विद्वानहरुको सूची तयार गर्ने क्रममा प्रा. सुवेदीले प्राध्यापकको रूपमा अन्तर्राष्ट्रिय कानूनमा दिएको योगदान र वरिष्ठ ब्यारिष्टरको रूपमा गरेको कामको कदर गर्दै उनको नाम पनि समावेश गर्ने निर्णय गरेको हो ।

 भर्खर स्वतन्त्र भएको अवस्थामा भारतले डा सर्वपल्ली राधाकृष्णन र डा राजेन्द्र प्रसाद जस्ता अन्तर्राष्ट्रिय छवि भएका बौद्धिक व्यक्तित्वहरुलाई राष्ट्रपति बनाएर लोकतन्त्रलाई राज्ययन्त्रका उपल्लो तहमा व्यावहारिक रूपमा संस्थागत गरि राष्ट्रको छवि संसारमा निकै उच्च बनाएको थियो। डा राधाकृष्णन राष्ट्रपति हुनु अघि बेलायतमा प्राध्यापक थिए। दूरदर्शी नेताहरु भएका अरु धेरै देशले पनि यस्तै गरेका प्रशस्त उदाहरण छन्।

उमेरले ६० को दशकको पूर्वार्द्धमा हिँडिरहेका र बौद्धिक रूपले नेपालको हितमा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा सशक्त कलम चलाइरहेका प्रा सुवेदी एक परिपक्व कानूनविद्, परराष्ट्रविद् र राजनीतिविद् पनि हुन्।