देउवालाई पार्टीभित्रै चुनौती

0

काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताहरुले चुनावको अन्तिम नतिजा नआउँदै नयाँ सरकार गठनको गृहकार्य अगाडि बढाएका छन् । नयाँ सरकार बनाउने गृहकार्य सँगसँगै संसदीय दलको नेता बन्ने दौडमा छन् । शेरबहादुर देउवा पुनः संसदीय दलको नेता हुँदै फेरि प्रधानमन्त्री बन्न चाहन्छन् । तर, देउवालाई रोकेर प्रधानमन्त्री बन्ने दौडमा कांग्रेस नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, किशोरसिंह राठौर र गगन थापा देखिएका छन् । आफूलाई अन्य दलको समर्थन रहने देखाउने दौड पनि कांग्रेसमा देखिन्छ । कांग्रेस नेताहरु सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलसँग कुराकानीमा छन् । 

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरिसके । अहिलेकै गठबन्धनलाई निरन्तरता दिनेगरी सभापति देउवाले छलफललाई अघि बढाएका हुन् । दाहाल र नेपालसँग छलफल गरेका देउवाले अहिलेको गठबन्धनलाई निरन्तरता दिने समझदारी गर्दै अन्य दललाई पनि समेटेर मुलुकको आर्थिक विकास र समृद्धिको पक्षमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको उनी निकट नेताहरु बताउँछन् ।

अहिलेककै गठबन्धनको निरन्तरतासहित सभापति देउवा फेरि प्रधानमन्त्री बन्न सक्ने र उनी नै कांग्रेस संसदीय दलको नेता चयन हुने प्रबल सम्भावना रहेको धेरैको आकलन छ । तर कांग्रेस नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, महामन्त्री गगन थापाले आफ्नै ढंगले संसदीय दलको नेता बन्ने प्रयास गरिरहेका छन् ।

महामन्त्री गगन थापा भन्छन्, ‘मेरो त अर्को चुनाव आउँदैछ । म संसदीय दलको नेता चयनको काममा केन्द्रित छु ।’ 

पार्टी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री थापाले बताउँदै आएका छन् । नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले नयाँ सरकार गठनसहितका विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालका साथै एमाले अध्यक्ष केपी ओलीसँग भेटेका छन् । 

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पौडेलले मुलुकका लागि आफ्नो नेतृत्व आवश्यक रहेको बताउँदै आएका छन् । गत सोमबार माधव नेपालसँगको भेटमा नयाँ सरकारको नेतृत्वमा आफूलाई समर्थन गर्न आग्रह गरेको नेताहरु बताउँछन् । उनले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसहितका नेताहरूसँग पनि छलफल गरेका छन् । प्रकाशमान सिंहले आफूले ‘ग्रास रुटदेखि नम्बर टुसम्म भएर काम गरिसकेको’ भन्दै आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन् । पार्टी सभापति देउवाको समेत विश्वास जितेर नेतृत्व लिने पक्षमा रहेका सिंहले गत आइतबार एमाले अध्यक्ष ओलीसँग भेटेका थिए ।

नवलपुर पूर्व १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पूर्वमहामन्त्री शशांक कोइरालाले अबको प्रधानमन्त्री आफू भएको दाबी गरेका छन् । पार्टीका शीर्षलाई अवसर दिन र पछिल्ला पुस्ताका नेतालाई हतार नगर्न उनले आग्रह गर्दै आएका छन् । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सार्वजनिक रूपमै प्रधानमन्त्रीको दाबी त गरेका छैनन् तर देउवापछि पार्टी र सरकारको नेतृत्व आफूले गर्ने भनेर निकटहरूलाई बताउँदै आएका छन् । देउवाको उत्तराधिकारीका रूपमा खड्काले आफूलाई प्रस्तुत गर्दै आएका छन् । खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उता पार्टीको १४औं महाधिवेशनमा सभापति देउवाविरुद्ध आमनेसामने भएका नेता शेखर कोइराला पनि पार्टीमा ‘पावर’ सेयरिङको पक्षमा छन् । देउवालाई पार्टी सञ्चालनको जिम्मेवारी दिने र आफूले सरकार सञ्चालन गर्ने रणनीतिका साथ उनी अघि बढ्ने पक्षमा रहेको निकटहरूको दाबी छ ।

पार्टीभित्र समझदारी निर्माण हुने अवस्था नभए महाधिवेशनमा जस्तै संसदीय दलको नेतामा पनि संस्थापन इतरको नेतृत्व गर्दै संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने शेखरको तयारी देखिन्छ । यद्यपि निर्वाचन परिणाम आफ्नो पक्षमा पारेपछि पनि शेखर अहिले पनि आफ्नै क्षेत्रको कार्यक्रममा सक्रिय छन् । शेखरकै समूहबाट महामन्त्रीमा निर्वाचित थापाले पनि आफूलाई प्रधानमन्त्री र संसदीय दलका रूपमा प्रस्तुत गर्दै आएका छन् । 

तर, जे जस्तो तर्क र बहस भए पनि फेरि पनि देउवा नै संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने नेता रमेश लेखकको दाबी छ । उनी भन्छन्, ‘ अहिलेको परिस्थितिमा शेरबहादुर देउवाजीले चाहनुभयो भने संसदीय दलको नेता पनि देउवाजी र प्रधानमन्त्री पनि उहाँ नै हो ।’ 

Leave A Reply

Your email address will not be published.