दोलखामा पुनः मतदान हुने

0

काठमाडौं : दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो । दोलखाका १० वटा मतदान केन्द्रमा मतदान स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको नदेखिएको ठहर गर्दै आयोगले पुनः मतदानको निर्णय सुनाएको हो । 

दोलखामा आयोगले पठाएको छानबिन टोलीको प्रतिवेदनका आधारमा पुनः मतदान गराउनुपर्ने निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनका अनुसार यो निर्णय आइतबार साँझ बसेको आयोगको बैठकले गरेको हो । 

आयोगका अनुसार मंसिर ४ गते प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग, घ र सोही गाउँपालिकाको वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र क र ख, तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र क र ख तथा वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग समेत गरी १० वटा मतदान केन्द्रमा मतदान स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको नदेखिएको आयोगको ठहर छ ।

यसैगरी, स्याङजा–२ को निर्वाचन विवादवारे बुझ्न स्थलगत अध्ययन गर्न आयोगले टोली गएको छ ।

अध्ययन गर्न स्थलगत टोली पठाउने कि नपठाउने भन्नेवारेमा निर्वाचन आयोगका पदाधिकारीहरुविच नै फरक मत देखिएको थियो । गत बिहीबारको आयोगको बैठकमा सबै पदाधिकारीहरुको रायमा फरक मत राख्दै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले प्रक्रियासम्मत रुपमा नै कामकारबाही भएकाले स्थलगत टोली पठाउन आवश्यक नभएको भनी राय दिएका थिए । 

आयोगका अधिकारीहरुका अनुसार चारजना आयुक्तले स्थलगत रुपमा टोली पठाएर प्रतिवेदन दिनुपर्छ भनी राय दिँदा आयुक्त पौड्यालले सबै कामकारबाही प्रक्रियासम्मत रुपमा भएकाले टोली जान आवश्यक छैन भनी फरक मत राखेका थिए । तर, चारजना आयुक्तहरुको बहुमतको निर्णय कार्यान्वयन हुने भएकाले स्थलगत अध्ययन गर्न आयोगले टोली पठाइसकेको छ । 

स्याङजा–२ मा कतिपय मतदानस्थलमा एमालेले बुथ क्याप्चर गरेको भनी कांग्रेसले उजुरी दिएको छ भने कांग्रेसले बुथ क्याप्चर गरेको भनी एमालेले पनि उजुरी दिएको छ । त्यो सूचना आयोगमा आएपछि आयोगले आन्तरिक रुपमा अध्ययन गरेको थियो । थप अध्ययनका लागि टोली पठाउने कि नपठाउने भन्नेवारेमा फरक मत देखिएको हो ।

आयुक्त पौड्यालले भने मतदान अधिकृतले कुनै हुलहुज्जत भएको सूचना नदिएको, प्रक्रियासम्मत रुपमा नै निर्वाचन अधिकृतलाई मतपेटिका बुझाएकाले थप छानबिन आवश्यक नभएको राय दिएका थिए । साथै मतपेटिका बुझाउने क्रममा कांग्रेस र एमालेका प्रतिनिधिको रोहबरमा मुचुल्का गरी प्रतिनिधिहरुले सहीछाप गरेकाले थप छानबिन आवश्यक नभएको उनको जिकिर थियो ।

आयोगबाट बहुमतको निर्णयका आधारमा पठाएको टोलीले स्याङजा–२ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सरोकारवालाहरुसँग छलफल गर्नेछ । त्यसवारे प्रतिवेदन पेश नभएकाले फेरि मतदान गर्ने वा मतगणना गर्ने भन्नेवारे टुंगो लागेको छैन ।

आयोगका अनुसार बाजुराका वारेमा पनि स्थलगत टोलीले अध्ययन गरेको छ । यसबारे सोमबार वा मंगलबार निर्णय हुने आयोग स्रोत बताउँछ । 

Leave A Reply

Your email address will not be published.