छिटफुट घटना बाहेक शान्तिपूर्ण निर्वाचन, ६१ प्रतिशत मतदान, १५ स्थानमा मतदान स्थगित

0

काठमाडौं : निर्वाचन आयोगको प्रारम्भिक विवरण अनुसार आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।’ तर, मत अनुमान गरे भन्दा कम खसेको छ । 

२०७४ सालको प्रतिनिधिसभातर्फको ६७.६३ प्रतिशत मत खसेको थियो । छ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए । त्यसबेला देशभरबाट १ करोड १८ लाख ५६ हजार मत खसेको थियो । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेसमा ६७.६९ प्रतिशत, बाग्मतीमा ६४.१६ प्रतिशत, गण्डकीबाट ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ६५.८० प्रतिशत मतदान भएको थियो ।

निर्वाचन आयोगले भने ०७४ को भन्दा बढी मत खस्ने अनुमान गरेको थियो । तर, आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलिया बताउँछन् । तथापि, सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने उनलाई लाग्छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हामीले अपेक्षा गरेभन्दा केही थोरै मत खसेको छ । समग्र रुपमा केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भएको छ ।’ 

१५ स्थानमा मतदान स्थगित 

१५ स्थानमा मतदान स्थगित भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गुल्मी, सुर्खेत, नवलपरासी, बाजुराका १५ स्थानमा मतदान स्थगित गरिएको जानकारी दिए । 

‘मतदानलाई शान्तिपूर्ण र सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न खोजे पनि सुर्खेत, नवलपरासी, गुल्मी, बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगन हुन पुगेको छ’ थपलियाले भने । आयोगले स्थगित भएको स्थानमा २ दिनभित्र मतदान गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएको छ । 

‘आयोगले जुन जुन ठाउँमा स्थगित भएको छ त्यहाँको तथ्यगत विवरणको आधारमा जनताको अभिमतलाई कदर मतदान पुनः गर्न आवश्यक भएको बाध्यता महसुस भयो’ थपलियाले भने ‘स्थगन वा रद्द भएको मतदान केन्द्रमा बढी तयारी गरेर दुई दिनभित्र पुन मतदान गराउने निर्णय गरिसक्न उपयुक्त मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले दिई सकेको छ ।’

‘बाजुरामा ठूलो दुर्घटना टर्‍यो’ 

गृह मन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ ।

गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछिको उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा संयमता अपनाउँदा अपनाउँदै एक जनाको मृत्यु भएको र प्रहरीसहित केही व्यक्ति घाइते भएको जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सञ्जीव ऐडी छन् । आठ प्रहरी र आठ जना निर्वाचन कर्मचारीलाई घेराउ गरेर ढुङ्गामुढा गरी मतपेटिका खोस्न थालेपछि प्रहरीले बाध्य भएर स्थिति नियन्त्रणमा लिन खोज्दा गोली लागेर एक जनाको मृत्यु भएको जानकारी दिँदै उनले अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक हुने बताए ।

उनले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको पनि बताए । दुई पक्षीय विवाद भएको र मतपेटिका नै खोस्न थालेपछि घटना हुन पुगेको उनको भनाइ छ । 

घटनामा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् । घाइते तीनै जनाको काठमाडौंमा उपचार जारी छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । 

नेपाली कांग्रेस र एमाले कार्यकर्ताबिच बार–बार झडप भए पछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए । नाट्यश्वरी आधारभुत बिद्यालयमा रहेको मतदान केन्द्रमा गोली चलेको हो । यो मतदान केन्द्रमा काग्रेस को बलियो पकेटको रुपमा रहेको केन्द्र हो । 

मतगणना जारी 

देशका बिभिन्न ठाउँमा मतगणना जारी छ । काठमाडौंमा सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको छ । काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । 

काठमाडौं–१ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा छ भने काठमाडौं–४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रम परिसरमा छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार प्रत्यक्ष र समानुपातिकर्फको मतलाई एकै पटक चार स्थानमा गणना गरिएको छ ।
निर्वाचन आयोगले पनि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फ एकैसाथ मतगणना गर्न निर्देशन दिएको थियो ।

मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्काे मतपेटिकामा खसेको भन्ने गुनासो आएपछि मतगणनाका लागि उक्त निर्देशन दिइएको आयोगले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.