काठमाडौं : गृह मन्त्रालयले ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेको छ । निर्वाचनको पूर्व तयारीबारे शुक्रबार पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयले आइतबार हुने निर्वाचनमा बिना भय मतदान गर्न भनेको हो । 

मन्त्रालयले भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहीमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ । 

पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पुर्‍याउने व्यक्ति दल/समूह र सङ्गठनमाथि कडा निगरानी राखिएको बताए । ‘विगतभन्दा धेरै राम्रो निर्वाचन सुरक्षा व्यवस्था गरेका छौँ । सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु’ उनले भने । मन्त्रालयको सुरक्षा तयारीबारे जानकारी दिँदै उनले थपे, ‘केही दिन यता केही हिंसात्मक गतिविधिहरू देखिएका छन् । यस्ता खालका गतिविधिमा संलग्न व्यक्ति, समूह र संगठनप्रति हामी ‘शून्य सहनशीलता’ मा छौँ । हामीले सूक्ष्म अनुगमन र कडा निगरानी गरिरहेका छौँ ।’

प्रवक्ता सिंहका अनुसार मतदान केन्द्र नजिक नौ सय तीन स्थानमा नेपाली सेनाको बम विस्फोटक टोली खटाइएको छ । इजाजत प्राप्त र अवैध दुई हजार २५ थान हातहतियार सङ्कलन भएको छ । चालीस वटा स्थानमा हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने व्यवस्था गरिएको छ ।

सुरक्षाकर्मीलाई आदेशबिनै गोली चलाउने अधिकार ! 

गृह मन्त्रालयले सुरक्षाकर्मीलाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न तीन अवस्थामा आदेशबिनै गोली चलाउने अधिकार दिएको छ ।

आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न हुने अवस्था चुनावमा खटिएका सुरक्षाकर्मीलाई आदेशबिनै गोली चलाउने अधिकार दिएको गृहसचिव विनोदप्रकाश सिंहले बताए ।

‘तीन अवस्थामा माथिल्लो निकायबाट आदेशबिना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ,’ उनी भन्छन्, ‘आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न हुने अवस्थामा अर्थात् बुथ कब्जा हुने अवस्था देखिएमा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ ।’

गृह मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै गृहसचिव सिंहले यसबारेमा जानकारी दिएका हुन् । त्यस्तै सरकारले चुनाव बहिष्कार गर्ने समूहलाई कारबाही गर्ने चेतावनी दिएको छ। बहिष्कारका नाममा हिंसात्मक गतिविधि देखिन थालेको भन्दै सिंहले कारबाहीको चेतावनी दिएका हुन् । 

उनका अनुसार बहिष्कार गर्ने समूह देशभर प्रहरीको निगरानीमा छन् । 

यस्तै, निर्वाचन आयोगका अनुसार नेपाली सेनाको हेलिकप्टर इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा राखिएको छ भने हवाई गस्ती समेत गरिरहेको छ । गृह मन्त्रालयका अनुसार देशभर अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ जनशक्ति परिचालित भएका छन् । मतदानस्थलको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।