काठमाडौं : आउँदो आइतबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावका लागि आजबाट स्थिर समय सुरु भएको छ । यसअघि मौन अवधि भन्ने गरिएकोमा यसपटकबाट स्थिर समय शब्दावलीको प्रयोग निर्वाचन आयोगले गरेको छ । 

निर्वाचन आयोगले स्थिर समयमा गर्न हुने कार्यहरूले राजनीतिक दल र उम्मेदवार तथा सम्बन्धित सबै सरोकारवाला पक्ष र आम मतदातालाई सम्झाएको छ । स्थिर समयमा कडाइका साथ आचारसंहिता पालना भए नभएको हेर्ने र उलङ्घन गरेको पाइए कारबाही गर्ने आयोगको चेतावनी छ ।

स्थिर समयको नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ । उलंघन गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुन्छ’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने । 

निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई स्थिर समय तोकेको छ । कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उदेश्यले सभा बोलाउन वा आयोजना गर्न, पाउने छैन् । जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न पाउँदैन् । गएराती १२ बजेदेखि स्थिर समय लागू भएको हो । 

स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा चुनाव प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइदैन् । 

यसैगरी, मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने  हुन्छ । स्थिर समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा सेयर गर्न  नपाउने प्रावधान छ । 

अर्थात, यो अवधिमा मतदाताले बाचा र व्यवहार हेरेर उम्मेदवार रोज्ने र आगामी पाँच वर्षका लागि मतादेश प्रदान गर्ने निर्णय लिने समयका रुपमा लिइन्छ । यस अवधिमा परिवारमै बसेर मतदाताहरुले उम्मेदवार रोज्ने विश्वास गरिन्छ । 

यस अवधिमा आम संचार माध्यमले पनि समाचार र समाचारजन्य सामाग्री सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने भनी प्रेस काउन्सिल नेपालले स्मरण गराएको छ । निर्वाचनको स्थिर समयमा आचारसंहिता पालनामा ध्यान दिन आमसञ्चार माध्यमलाई ध्यानाकर्षण गराउँदै काउन्सिलले स्रचना नै जारी गरेको छ । 

काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थिर समय सुरु हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्न अङ्कित झन्डा÷ब्यानर, श्रव्यदृश्यलगायत सामग्री समेटी सञ्चारमाध्यमबाट प्रकाशन÷प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लंघन हुने हुँदा त्यस्तो कार्य नगर्न÷नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ ।’ 

आचारसंहिता उल्लंघन गरे तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने काउन्सिलको चेतावनी छ । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लंघनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्कन÷वर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिनेतर्फ समेत यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन÷प्रसारण÷सम्प्रेषण गर्न पाइने छैन । ‘कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सो अघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको उल्लेख गर्दै काउन्सिलले सूक्ष्म ढङ्गबाट अनुगमन गरिरहेकाले त्यसतर्फ समेत सजगता अपनाउने भनेको छ ।