काठमाडौं : आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित मुग्लिङ सडक खण्डमा बा. १४ च ७६८४ नम्बरको गाडी तोडफोड भएको हो । गाडीमा लामिछाने थिएनन् तर, प्रचार टोलीसँगै उनी पनि जाँदै थिए । लेवाटारमा सत्ताधारी गठबन्धनको कार्यक्रम हुँदै थियो । कार्यक्रमबाट निस्केका एकजना युवाले लामिछानेको प्रचारमा हिँडेको गाडी रोकेर तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले घटनाबारे बुझेर जानकारी दिने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष धर्मेन्द्र सापकोटाका अनुसार प्रचारका लागि उनका समर्थक चढेको गाडीमा गठबन्धनका कार्यकर्ताले आक्रमण गर्दा गाडीको अगाडिको सीसा फुटेको छ ।
यो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोग दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाध रूपमा प्रचारप्रसार गर्न÷गराउन दिन निर्देशन दिएको छ । आयोगले दल तथा उम्मेदवारलाई निर्वाध रूपमा प्रचारप्रसार गर्न/गराउन पाउने बताएको छ ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईले विज्ञप्ति निकालेर यस्तो बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएकोले निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुने भएको हुँदा सबै राजनीतिक दल एवं सबै उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न आयोग गृह मन्त्रालयलाई पुनः निर्देशनसहित ध्यानाकर्षण गराइएको छ ।’
आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न निर्देशन दिएको थियो ।