सनत आचार्य– बेल्जियम

प्रथम विश्वयुद्धमा शहादत प्राप्त गर्ने सैनिक, गैरसैनिक तथा नेपालीहरुको सम्झना एवम् विश्वयुद्धको अन्तका लागि भएको घोषणाको स्मरण गर्दै शुक्रबार बेल्जियमको इपर शहरमा तमु समाज बेल्जियमद्धारा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
प्रथम विश्वयुद्धको अन्तका लागि बन्दुक विसाए दिन १९१८ नोभेम्वर ११ तारिखका दिन ११ बजे विहान (जसलाई युरोप लगायत अन्य देशहरुमा ११–११–११ को रुपमा समेत चिनिन्छ छ) सोको सम्झनामा नेपाली सैनिकको स्मारक रहेको स्थानमा उक्त कार्यक्रम आयोजना गरिए थियो ।
श्रद्धाञ्जली सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लगजम्बर्ग)का लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले बीरता र त्याग कहिल्यै खेरा नजाने बताउँदै, युद्धमा मानिसहरु मारिनु दुखद पक्ष भएता पनि प्रथम विश्वयुद्धमा मारिएका नेपालीहरुको इतिहासले कालान्तरमा दुई देशबीचको सम्वन्धलाई प्रगाढ बनाउन पनि सक्दो रहेछ भन्ने अनुभुती आफुले गरेको भावना व्यक्त गर्नु भयो ।
राजदुत राजभण्डारीले आफुले प्रथम विश्वयुद्धमा नेपालीहरु पनि युद्ध लडेको भन्दै गर्दा नेपालीहरुको बीरताको परिचयले सबैलाई गौरवान्वित बनाउने बिचार व्यक्त गर्नु भयो ।
नेपाल पत्रकार महासंघ युरोपका पूर्व अध्यक्ष महेश थापाले इपरमा सन् १९१५मा जर्मनद्धारा पहिलो पटक ग्यास आक्रमण गरेको र यो आक्रमणमापरी लाखौ सैनिक तथा गैरसैनिकहरुको अकालमा मृत्यु भएको बताउँदै उक्त लडाईमा नेपालीहरु भारतीय सैनिकको तर्फबाट लडेको र सोहिक्रममा ५८ जनाको मृत्यु भएको आफुले अध्ययन गर्दा भेटिएको जानकारी दिनु भयो ।
थापाले प्रथम विश्वयुद्धमा सहादत प्राप्त गर्ने बीर नेपालीहरुको पारिवारिक अवस्था के कस्तो छ र उनीहरुको मृत्यपछि परिवारले सम्वन्धितबाट सहयोग एवंम् क्षतिपूर्ती प्राप्त गर्न सके वा सकेनन् ? यसकालागि पनि अध्ययन र पहल गर्न आवश्यक रहेको बताउनु भयो ।
पूर्व अध्यक्ष थापाले यसको बिस्तृत रुपमा अध्ययन गरेर क्षतिपूर्ती दिलाएमा मात्र बीरगति प्राप्त गर्नेहरुको आत्माले सुख शान्ति प्राप्त गर्ने धारण व्यक्त गर्नु भयो ।
गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तीर्थराज धमलाले प्रथम विश्वयुद्धमा बीरगति प्राप्त गर्ने नेपालीहरुको प्रत्येक बर्ष स्मरण र श्रद्धा व्यक्त गर्नु राम्रो पक्ष भएको बताउदै स्मारक लगायतका यसको पूर्वाधार बिकासका लागि सबै संघसंस्थाहरु मिलेर तत्काल शुरुवात गर्न आवश्यक रहेकोले यस बिषयमा पहल गर्न सुझाव दिनु भयो ।
शेर्पा केदुङ संघका अध्यक्ष शोनाम शेर्पाले इपर प्रथम विश्वयुद्धमा नेपालीहरुले बीरगति प्राप्त गरेको ऐतिहासिक स्थान भएकोले यसको अझ बृहतरुपले विकास गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिनु भयो ।
अध्यक्ष शेर्पाले इपरमा नेपाल सरकारद्धारा निर्माण गरिएको स्मारक अझ राम्रो र आकर्षक बनाउन नेपाली दुतावासले पहल गर्नु पर्ने र यसमा अन्य संघसंस्थाहरुले सघाउनु पर्ने सुझाव दिनु भयो ।
नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमका उपाध्यक्ष होम तमुले अवको चुनौती भनेको सबै मिलेर स्मारकलाई अझ व्यवस्थित बनाउनु रहेको बताउँदै बीरगति प्राप्त गर्ने सैनिकहरुको पारिवारिक अवस्था समेत बुझ्न आवश्यक रहेको बताउनु भयो ।
उपाध्यक्ष तमुले प्रथम बिश्वयुद्धमा जनजातीले मात्र नभै नेपालीहरुले ज्यान गुमाएको रुपमा पनि समाजले बुझ्नु पर्ने बताउनु भयो ।
तमु समाजका सल्लाहकार नन्दुराज घलेले विगतमा समाजद्धारा आयोजना गरिने सभाहरुको स्मरण गर्दै स्मारकको रुपमा रहेको शालिकलाई समेत नेपालीको पहिचान र मौलिकताको आधारमा परिमार्जन गर्नु पर्ने, प्रथम विश्वयुद्धमा साहदत प्राप्त गर्ने बीर नेपालीहरुको सिलालेख समेत बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।
सल्लाहकार घलेले यो ऐतिहासिक स्थान भएकोले स्मारकलाई अझ बढि आकर्षक बनाउन यहाँ स्थित संघसंस्थाहरुले संयुक्त रुपमा योजना निर्माण गर्न सुझाव दिनु भयो ।
कार्यक्रमका सभापति एवंम् तमु समाज बेल्जियमका अध्यक्ष ओम्राज गुरुङले इपर सबै नेपालीहरुकालागि ऐतिहासिक र गौरबशाली स्थान भएको बताउँदै, स्मारकलाई अझ बढि सुन्दर बनाउन आफुहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
स्मरण रहोस प्रथम विश्वयुद्धमा इपर क्षेत्रमा भएको लडाइमा ब्रिटिस भारतीय सेनामा नेपालीहरु पनि भएको कुरा प्रथम विश्वयुद्धको स्मारकको रुपमा रहेको मेनन गेटमा उल्लेख भएको नामावली देखाउँछ । जस्मा चौथो गोर्खा राईफल लगायतको प्लाटुन बेल्जियममा आएर पहिलो विश्व युद्धलडेको र सोहिक्रममा ५८ जना ब्रिटिस भारतीय सेनामा कार्यरत नेपालीहरुले शहादत प्राप्त गरेको देखिन्छ ।
शहादत प्राप्त गर्नेहरुमा जम्दार मेनसिंह राना, सहयाक हवल्दार गंजसिंह गुरुङ्क, नायक मानबहादुर गुरुङ, लेसनायक अमनसिंह गुरुङ, हरकसिंह गुरुङ, रणजीत गुरुङ, राईफलम्यान बालेस्वर राना, बेलबहादुर गुरुङ, धनबीर गुरुङ, बुधिबल गुरुङ, धनबीर गुरुङ, दिलु पुन, रणबहादुर दुरा, दुर्गराज गुरुङ, लगायतको नाम स्मारकको रुपमा रहेको मेनन गेटमा राखिएको छ । प्रथम बिश्वयुद्धमा साहदत प्राप्त गर्ने यी र यति मात्र हुन वा यो भन्दा बढि छन भन्ने सन्दर्भमा अझ गहिरीयर अध्ययन गर्दा सत्यतथ्य आउने देखिन्छ ।
कास्की समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङले यो एउटा इतिहास भएकोले यस बिषयमा नेपाल सरकार अझ बढि जिम्मेवार भएर अध्ययन अनुसन्धान गर्न अन्यन्त आवश्यक भएको बताउनु हुन्छ । अध्यक्ष गुरुङले बेल्जियम स्थित संघसंस्थाका प्रतिनिधिहरु बीच यो बिषयमा सघन रुपले छलफलगरी छिटै निचोड निकाल्न र नेपाल सरकारद्धारा बनाईएको स्मारकलाई अझ ठुलो र बृहत बनाउन समेत आवश्यक रहेको बताउनु हुन्छ ।
कार्यक्रमको शुरुवातमा प्रथम विश्वयुद्धमा शहादत प्राप्त गर्ने तथा बेपत्ता भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने तमु समाज बेल्जियमले प्रथम विश्वयुद्धमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा सन् २००३ देखि निरन्तर रुपमा इपरमा श्रद्धान्जली सभा गर्दै आएको छ ।
समाजले गर्ने गरेको यो सभाको चौतर्फी प्रशंसा समेत रहेको छ ।
कार्यक्रममा स्वागत भाषण चित्रजंग तमुले गर्नु भएको थियो । कार्यक्रमको संचालन समाजकी सचिब उमाकुमारी तमुले गर्नु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा बेल्जियम स्थित बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।