काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको जित हुन अति आवश्यक रहेको बताएका छन् ।
आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्र एकता कायम गर्न, गणतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक वाम–गठबन्धनको जित आवश्यक रहेको बताएका हुन् ।
विजयको शुरुवात चितवनबाटै होस् भनेर आफू आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खेलौना जसरी केपी ओलीले दुई पटकसम्म संंसद विघटन गरेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरुलाई परास्त गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनपछि स्थिरता र विकासको एउटा नयाँ मार्ग खुल्ने दाबी समेत गरे ।
अध्यक्ष दाहालले यो निर्वाचन देशलाई अगाडि लैजाने कि पछाडि धकेल्ने भन्ने जनमतसंग्रहजस्तै भएको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरे ।
उनले आफू चुनाव लड्न गोरखा गए पनि चितवनमा सुरु भएका विकास योजना पूरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।