लोसपा घोषणापत्र : कम्युनिष्ट पार्टीहरूप्रति कटाक्ष

0

काठमाडौं : लोकतान्त्रिक समाजवादी नेपाल (लोसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा मुख्यत लोसपाले कम्युनिष्ट पार्टीहरुप्रति कटाक्ष गरेको छ । पाँच दलीय सत्ता गठबन्धनमार्फत चुनाव लड्दै गरेको लोसपाले कम्यसनिष्टहरुप्रति नै कटाक्ष गरेको हो । नेपालका कम्युनिष्ट पार्टीहरु विचारशून्य, सत्तालोलुप र राजनीतिक उद्यमी रहेको उसको घोषणापत्रमा छ । कम्युनिस्ट पार्टीहरु राष्ट्रिय विकासमा तगारो हाल्ने अग्रणी संगठनहरु रहेको तिखो टिप्पणी गरेको छ ।

‘नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति जनाएपनि कम्युनिस्ट पार्टीहरुले आफ्नो औचित्य सावित गर्न सकेका छैनन् । जुन पार्टीले नश्लीय सोचका आधारमा आफ्नो विचार, कार्यक्रम र मुद्दाहरुको चयन गर्छ’ घोषणापत्रमा भनिएको छ । लोसपाले कांग्रेसलाई भने ठूलो पार्टी भएर सानो काममा अल्झिएको भनी टिप्पणी गरेको छ । 

साथसाथै, लोसपाले मधेस आन्दोलनसँग जोडिएकै मुद्दालाई पनि चुनावी घोषणापत्रमा समेटेको छ । लोसपाले नागरिकता समस्याको हल र मधेस आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्तालाई नै चुनावी अस्त्र बनाएको छ । 

चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका अजेन्डा अझै पूरा नभएकाले त्यससँग जोडिएकै मुद्दालाई घोषणापत्रमा समेटिएको बताए । लोसपा अध्यक्ष ठाकुरले भने, ‘मधेस आन्दोलनको भावनाअनुसार संविधानले पूर्णता पाएको छैन । संविधान अपूर्ण छ । नागरिकतासम्बन्धी कानुन नै बनेको छैन । १० लाख जनता नागरिकताविहीन छन् । हाम्रो घोषणापत्रमा मधेसकै समस्या, एजेन्डा र मुद्दालाई प्राथमिकतामा राखिएको छ ।’ 

नेता ठाकुरले मधेसी जनता अझै विभेदमुक्त हुन नसकेको पनि बताए । ‘आन्दोलनमा सहभागी साथीहरू अझै जेलमै छन् । परिवर्तनको आन्दोलनमा राज्यबाट हिंस्रक हस्तक्षेप भएको छ । हामी शान्तिपूर्ण आन्दोलन गरे पनि मान्छे मारिएको छ, ठाकुरले भनेका छन्, ‘तिनीहरूलाई राज्यले सहिद त घोषणा गरे । तर, हाम्रा कैयन साथीलाई मुद्दा चलाएर थुनेर राखेका छन् ।’ ठाकुरले सत्तामा गएर जनताको सेवा गर्ने सबै दलको ध्येय रहे पनि घोषणापत्रमा उल्लेख गरिएका मुद्दा सत्तामा पुगे नीति तथा कार्यक्रममार्फत सम्बोधनको प्रयास गरिने बताए ।

लोसपाको घोषणापत्रमा संविधानको पूर्णता, पहिचानसहितको संघीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति र हरेक विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्त्वका साथ समेटिएको छ । घोषणापत्रमा भनिएको छ, ‘लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँस्तरमा लोकतन्त्र, सुशासन र जनकल्याणप्रति प्रतिबद्ध रहनेछौं ।’ यस्तै, लोसपाको घोषणापत्रमा जनकपुरको धार्मिक र सांस्कृतिक विकास र लुम्बिनीलाई विश्वस्तर चिनाउन बिभिन्न योजना र कार्यक्रम ल्याइने समेटेको छ ।

लोसपाको घोषणापत्र मस्यौदाका संयोजक नेता अनिल झाले पार्टीको उठाएका मुद्दा र अजेन्डा थाँती नै रहेकाले घोषणापत्र विगतको निर्वाचनकै ‘अपडेटेड भर्सन’ रहेको बताए । ‘लोसपाले प्राप्त गर्ने सिट र ५ वर्षे कार्यकालसम्म सरकार सञ्चालनको मौका पाए घोषणापत्रअनुसार काम गर्ने प्रयास हुनेछ,’ नेता झाले भने, ‘सरकारमा स्थान नपाए संसद् र सडकबाट आवाज उठाइन्छ ।’ 

Leave A Reply

Your email address will not be published.