आक्रामक चुनावी प्रचारमा दलहरु

0

काठमाडौं : निर्वाचन आयोगले आमसभा, जुलुससहितका प्रचारका लागि समय दिएसँगै उम्मेदवारहरू चुनावी प्रचारका उत्रिएका छन् । चुनावलाई प्रतिष्ठाकै रुपमा लिएर सत्तापक्ष र प्रतिपक्ष अझ आक्रामक रुपमा देशभर चुनावी प्रचारमा उत्रिएका छन् । 

नेकपा एमालेले दार्चुलाबाट राष्ट्रियताको मुद्दालाई मुख्य मुद्दा बनाएको प्रष्ट सन्देश दिएको छ । एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी अभियानको सुरुवात गर्दै सीमाको विषयमा भारतलाई सानो चित्त नदेखाउन आग्रह गरे ।

दार्चुलाको सदरमुकाम खलंगामा चुनावी अभियानको पहिलो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छाड्नेवाला छैन । हामी एक इन्च जमिन पनि मिचिन दिनेवाला छैनौं । मिचिएको भए फिर्ता ल्याउँछ । हामीले नक्सा जारी गरेका छौं, संसद्ले सर्वसम्मतीले पारित गरेको छ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौं ।’

कार्यक्रममा ओलीले दार्चुलामा बाटो निर्माण गर्नेको विषयमा भारतले झमेला झिकेको बताए । नदी वर सर्दैमा सीमा नसर्ने भन्दै ओलीले भारतलाई सानो चित्त नदेखाउन आग्रह गरेका हुन् । ओली प्रधानमन्त्री हुँदा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा जारी गरेको थियो । चुच्चे नक्साको विषयमा एमालेको निर्वाचनमा प्रमुख एजेन्डाको रुपमा छ ।

एमालेको केन्द्रीय चुनावी अभियान अध्यक्ष ओलीले दार्चुलामा सुरुवात गरेका छन् । उनले शुक्रबार नै बैतडी र कञ्चनपुरको कार्यक्रमलाई सम्बोधन गरे । चुनावको अवधीभर अध्यक्ष ओलीले ४० जिल्लामा सम्बोधन गर्ने कार्यक्रम छ ।

शुक्रबार नै बैतडीको चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिए । ‘टालाटुली बटुली, कति राम्री कठपुतली । यो कठपुतली हो । यस्ताबाट सरकार चल्दैन । देश चल्दैन, बन्दैन ।’ ओलीले भने । 

आगामी चुनाव पछि आफ्नै नेतृत्वमा एमाले सरकार बनाउने ओलीले बताए । आफ्नो सरकार बनाउने नारा मञ्चबाटै ओलीले लगाएका थिए । यसपछि ओलीले भने : मंसिर ४ । सहभागीले भने : ओली सरकार । सानो स्वरमा आएको जवाफप्रति ओलीले चित्त बुझाएनन् । ओलीले फेरि त्यही नारा लगाएः मंसिर ४ । सहभागीले भनेः ओली सरकार । ओलीले अर्को नारा लगाए ः गठबन्धन वाइवाई, एमाले हाइहाइ ।

उसो त सत्ता गठबन्धन पनि उस्तै गरी चुनावी प्रचारमा छ । एमालेले राष्ट्रियताको मुद्दा उचालेर र गठबन्धनलाई गाली गरेर आफ्नो सरकार बन्ने भनी जनतालाई कन्भिन्स गराउन खोजिरहँदा सत्ता गबन्धनले एमाले सरकारका हुँदाका गतिविधि र प्रतिनिधिसभा विघटनलाई सम्झेको छ । 

सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर ४ संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ भएको बताइरहेका छन् । गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतले पनि  मंसिर ४ गते निर्वाचनमात्र नभई संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ भएको बताइरहेका छन् । ठूलो मूल्य चुकाएर आएको संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भन्दै गठबन्धनका नेताहरुले मत मागिरहेका छन् ।

शुक्रबार आफ्नो गृहपालिका गन्यापधुराको बडालमा चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले भने, ‘संविधान च्यात्ने काममा ओलीजीहरुको भूमिका ठूलो छ ।’ विद्युत् आयोजनाहरु निर्माणले मात्र देशमा ठूलो रोजगारी सिर्जना हुने भएकोले गठबन्धनले पहिलो प्राथमिकतामा जलविद्युत् विकासलाई राखेको प्रधानमन्त्री देउवाले सुनाए । 

Leave A Reply

Your email address will not be published.