स्वतन्त्र उम्मेद्वारको लहर

0

काठमाडौं : आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिनेको घुईँचो नै लागेको छ । काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट बालेन्द्र शाहले जितेपछि स्वतन्त्र उम्मेद्वारीको लहर नै चलेको हो । पार्टीमा आबद्ध नभएका मात्रै होइन, पार्टीमा टिकट नपाएका नेताहरु समेत स्वतन्त्र उम्मेद्वारी दिन थालेका छन् । प्रत्यक्ष चुनावका लागि देशभरबाटै ९ सय बढीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जुन कुल उम्मेदवारीको करिव ३७ प्रतिशत हुनआउँछ । 

‘स्वतन्त्र उम्मेद्वारी बढ्नुमा एउटा दलप्रतिको वितृष्णा हो भने अर्को चर्चामा आउने फेसन पनि हो, बालेन्द्रले जस्तै सबैले चुनाव जित्छन् भन्ने छैन, तर दलको भोट भने काट्छन्, राजनीतिक विश्लेषक डा. राजेश अहिराजले भने । उनले राजनीतिक दलले घोषणापत्रमा उल्लेखित ५० प्रतिशत मात्रै काम भएको भएपनि जनता आशावादी हुने बताएका छन् । 

अहिले नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल लगायतका शीर्षस्थ नेताको विरुद्धमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । शीर्षस्थ नेताहरुसँग प्रतिस्पर्धा गर्दा एकातिर चर्चामा आउने अनि अर्कोतिर कुनै पार्टीमा स्थान लिन पनि सहज हुनेहुँदा स्वतन्त्र उम्मेद्वारी बढेको नेताहरु बताउँछन् । 

अहिले काठमाडौं–४ मा सबैभन्दा बढी १७ जना स्वतन्त्र उम्मेदवार छन् भने ५ मा १४ जना रहेका छन् । काठमाडौं १ र २ मा ११÷११ उम्मेदवार छन् । हालसम्म काठमाडौंका १० निर्वाचन क्षेत्रमा १०५ जनाले स्वतन्त्र उम्मेदवारी दिइसकेका छन्  । त्यस्तै, धनुषामा ६५, मोरङमा ४६, सिराहामा ४८ र रुपन्देहीमा ५० उम्मेदवार रहेका छन् ।  

‘स्वतन्त्र उम्मेद्वारीको लहर मात्रै हो, चुनाव जित्ने दलकै उम्मेद्वारले हो’, नेकपा एमालेका नेता महेश बस्नेतले भने । उनले सबै स्वतन्त्र व्यक्ति बालेन शाह बन्न नसक्ने पनि बताएका छन् । पछिल्लो समय पार्टीभित्र टिकट नपाएका एमालेका नेता घनश्याम भुसाल देखि गंगा चौधरी समेत स्वतन्त्र उम्मेद्वारी दिएर चुनाव लड्न तम्सिएका छन् । तर, स्वतन्त्र उम्मेद्वारले पनि सहजै चुनाव जित्ने अवस्था भने देखिदैँन । यद्यपि, उम्मेद्वारी दिनेको लहड र दलहरुबीचको गठबन्धनले शीर्षस्थ नेतालाई नै चुनाव जित्न मुस्किल पर्ने देखिएको छ । 

Leave A Reply

Your email address will not be published.