काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसभित्रको असहमति र विवाद सतहमै आएको छ । कांग्रेस नेता डा.शेखर कोइराला समूहले छुट्टै भेला बोलाएर पार्टीमा विद्रोह गर्ने चेतावनी दिएसँगै मतभेद छताछुल्ल भएको हो । कोइराला समूहले शनिबार खबरदारी भेला गरेर समानुपातिकको बन्दसूची सच्याउन र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोह गरेर जाने बताएको हो ।
‘नेपाली कांग्रेसभित्र अहिले समान्तवाद मौलाएको छ । एकलौटी रूपमा टिकट दिएर सबैलाई जिताउने तागत छ भने दिए हुन्छ । होइन, भने सबैलाई न्याय गर्नुस् । हामी विनम्रतापूर्वक आग्रह गरिरहेका छौँ । सुनुवाई नभए विद्रोह गर्छौँ’, कांग्रेसका नेता गुरुराज घिमिरेले भने ।
पार्टीभित्रको स्वेच्छाचारिता नसच्चिए विद्रोह गर्नुको विकल्प नरहेको उनले बताए । गठबन्धनका नेता रिझाउन १८ घण्टासम्म सयम दिने, तर आफ्नै पार्टीका नेतालाई १८ मिनेट पनि समय नदिएको केही नेताको आरोप छ । त्यसो त, शेखर समूहले देउवा पक्षलाई पटक पटक सत्तागठबन्धनबाट बाहिरिनुपर्ने दबाव दिदैँ आएको छ ।
‘१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ ?,’ कोइरालाले भने, ‘तर १०० सिट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन् । १०० भन्दा कम सिट लिँदा त विद्रोह हुन सक्छ’ कांग्रेस नेता शेखर कोइरालाले भने । उनले गठबन्धनकै कारण आकांक्षी नेता कार्यकर्ताको व्यवस्थापन जटिल भएको र समानुपातिक मत पनि घट्ने बताएका छन् ।
यसअघि पनि सभापति देउवाले पाँच वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई नसमेटेको र पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको भन्दै कोईराला पक्षले छुट्टै बैठक बोलाएको थियो । अहिले पनि सभाति देउवा अहिलेकै शैलीमा निरन्तर अघि बढे अब समानान्तर गतिविधि गर्ने तयारीमा उक्त समूह जुटेको छ ।
‘उहाँहरु सभापति देउवाको विरोध गर्ने आफू केही काम नगर्ने मात्रै हो, उहाँहरुको धम्कीले सभापति देउवा आफ्नो अडानबाट हलचल हुने मनस्थितीमा हुनुहुन्न,ʹ देउवा निकट एक केन्द्रीय सदस्यले भने ।
उनले कोइराला पक्षबाट आफ्नै सरकारलाई असहयोग भइरहेको बताएका छन् । सभापति देउवा पनि कोइराला पक्षलाई बाहिर राखेरै पार्टीदेखि सरकार सञ्चालनको काम गर्दै आइरहेका छन् । कोइराला पक्षको धम्कीलाई वेवास्ता गरेर आफ्नो निर्णय पेलेरै लागू गर्ने मनस्थितीमा देउवा देखिएका छन् ।