आज जबरासँग पुरक बयान

0

काठमाडौं : संघीय संसदको महाअभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई फेरि बयानका लागि बोलाउने भएको छ । आज बस्ने सिफारिस समितिको बैठकमा जबरालाई पुरक बयानका लागि बोलाइएको हो । 

यसअघि ४५ प्रश्नमाथि जबराको बयान लिइएको थियो । सांसदहरुले सोधेका प्रश्नमाथि जबराले केही दिन लगाएर जवाफ दिएका थिए । तर जवाफ मात्रै नदिएर जबराले प्रतिआरोप समेत लगाए । 

जबराले तानेका व्यक्तिहरुसँग बिहीबार सिफारिस समितिमा छलफल भएको थियो । जबरामा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतले बयान दिएका थिए । जबराले तानेका व्यक्तिहरुले भने आफूहरुमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै पुष्टि गर्न चुनौती समेत दिएका थिए । 

यसपछि सिफारिस समितिले फेरि जबरालाई पुरक बयानका लागि बोलाउने निर्णय गरेको छ । आज बिहान ९ बजे बस्ने महाअभियोग सिफारिस समितिमा जबराले पुरक बयान दिएपछि भने समितिले प्रतिवेदन तयार पार्नेछ । जबरालाई महाअभियोग लगाउनुपर्ने प्रतिवेदन तयार पारेर संसदमा सिफारिस हुनेछ । 

गएको फागुन १ गते सत्तारुढ सांसदहरुले जबरालाई महाअभियोग लगाएका थिए । महाअभियोग पछि जबरा निलम्बित छन् । जबरालाई कार्यकारीसँग भागबण्डामा न्यायको सौदाबाजी गरेको आरोप लगाएर सर्वोच्च अदालतकै न्यायाधीशहरुले राजीनामा मागेका थिए । न्यायाधीशहरुको आन्दोलनपछि सर्वोच्च अदालतको न्याय सम्पादन अवरुद्ध बनेको थियो । 

तर सत्तारुढ सांसदहरुले भने फागुनमा मात्रै महाअभियोग लगाएका थिए । महाअभियोग माथि ६ महिनापछि सिफारिस समितिले जबरालाई बयानका लागि बोलाएको हो । तर जबराको महाअभियोग अनुमोदन हुने सम्भावना भने न्यून छ । किनकि सत्तारुढ दलहरुसँग महाअभियोग अनुमोदनका लागि आवश्यक दुई तिहाइ बहुमत छैन । 

एमाले भने महाअभियोगको विपक्षमा उभिएको छ । एमालेको साथ नभएसम्म महाअभियोग अनुमोदन नहुने भएपनि सिफारिस समितिले भने जबरासँग बयान लिएको छ । 

Leave A Reply

Your email address will not be published.