काठमाडौं : भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन् । बिहीबार आएको मतगणनाको नतिजामा एनडीएकी उम्मेदवार द्रौपदी मुर्मु विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
भारतको राष्ट्रपति चयन गर्ने इलेक्टोरल कलेजमा भोटको कुल मूल्य १ लाख ८६ हजार ४३१ हुन्छ । यस निर्वाचनमा दुई जना उम्मेदवार रहेकाले कुनै पनि उम्मेदवारले आधाभन्दा बढी मत प्राप्त गरेमा कुनै पनि उम्मेदवारको जित निश्चित हुन्छ । यस्तो अवस्थामा द्रौपदी मुर्मुलाई जिताउन ५ लाख ४३ हजार २१६ मत आवश्यक थियो ।
समाचार एजेन्सी एएनआईले राज्यसभाका महासचिव पीसी मोदीलाई उद्धृत गर्दै तेस्रो राउण्डको समाप्तिपछि द्रौपदी मुर्मुले ५ लाख ७७ हजार ७७७ मत प्राप्त गरेको बताएको छ । जबकि उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले हालसम्म २ लाख ६१ हजार ६२ मत मात्र ल्याए ।
मुर्मु भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाका मुर्मु यसअघि झारखण्डको राज्यपाल पनि भइसकेकी छन् । द्रौपदी मुर्मुले जुलाई २५ मा पद तथा गोपनियताको शपथ लिनेछिन् ।