मन्त्रीमण्डल पुनर्गठनको निर्णयविरूद्ध उभिए एकीकृत समाजवादीका १० सांसद

काठमाडौं : नेकपा एकीकृत समाजवादीका १० सांसद मन्त्रीमण्डल पुनर्गठनको विरूद्धमा उभिएका छन् ।
उनीहरूले बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे पत्र बुझाएका छन् । जसमा बजेट अधिवेशनका बेला मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने उल्लेख छ ।
‘बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्व छ’ पत्रमा लेखिएको छ ‘बजेट पारित भएपछि मन्त्री फेर्ने आन्तरिक समझदारी हुँदाहुँदै क्षणक्षणमा प्रधानमन्त्रीलाई दबाब दिएर हुर्मत लिने काम गरेको ठिक भएन ।’
त्यस्तै अहिले मन्त्री बनाउन प्रस्ताव गरेको पाँच जनाको नाम कुनै हालतमा परिवर्तन हुनुपर्ने उनीहरूले अडान राखेका छन् । ‘ति नाम समावेशी छैन । महिला छैन’ पत्रमा लेखिएको छ ‘एउटै जिल्लाबाट २ जना सिफारिस गरिएको छ । सिनियर-जुनियर हेरिएको छैन । ६ महिनाको नियम सबैमा लागू हुनुपर्छ ।’
विरोध खतिवडाको नेतृत्वमा सांसदहरू रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु मन्त्रीमण्डल पुनर्गठनको विरुद्धमा उभिएका हुन् ।
