काठमाडौं : वायुसेवा सञ्चालकहरू अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट पछि हटेका छन् ।
हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएपछि वायुसेवा सञ्चालक आन्दोलनवाट पछि हटेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार राति बसेको बैठकमा वायुसेवा संचालक संघ बुधबार विहान एघार बजेपछि उडान सञ्चालन गर्न सहमत भएका हुन् ।
बिहानसम्मको टिकट बुकिङ बन्द गरेकाले एघार बजेपछि नियमित उडान शुरु गर्ने सहमति भएको हो । प्राधिकरण र वायुसेवा सञ्चालकबीच बुधबार पुनः वार्ता हुने बताइएको छ ।
वायुसेवा संचालकहरुले मंगलबार नागरिक उड्डयन प्राधिकरणले जारी गरेको बेस व्यवस्थापन निर्देशनविरुद्ध बुधबारबाट सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका थिए ।
जसको प्रतिवाद गर्दै प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे संचालकहरुलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा संचालन अनुमति नै खारेज गर्ने चेतावनी दिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा भीड बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले जहाजले काठमाडौंबाहिरै अनिवार्य रात्रि बिसान गर्नुपर्ने तथा पहिलो उडान उताको विमानस्थलबाट हुनुपर्ने निर्णय गरेको थियो ।
देशभर उडान गर्दै आएका नौवटा वायुसेवा कम्पनीका ५२ वटा विमानमध्ये २२ वटालाई मोफसलका ७ ठाउँमा ‘नाइट स्टप’ गर्न भनिएको थियो ।
त्यस्तै ११ वटा हेलिकोप्टर कम्पनीका ३८ मध्ये २१ वटालाई दुर्गम तथा पहाडका चार विमानस्थलमा बस्न भनिएको थियो । त्यसविरुद्ध बायुसेवा सञ्चालक आन्दोलित भएका थिए ।